किशोरी गायिका वलात्कार गरेको आरोप लागेका अभिनेता पल शाह अझै १२ दिन प्रहरी हिरासतमा बस्न पर्ने भएको छ।
जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई अझै १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तनहुँलाईअनुमति दिएकाले उनी अझै १२ दिन प्रहरी हिरासतमा बस्न पर्ने भएको हो।
अभिनेता शाहविरुद्ध कास्की जिल्लामा घर भएकी एक किशोरी गायिकाले आफुलाई वलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा गएको फागुन ११ गते उजुरी दिएकि थिइन्।
आफूविरुद्ध उजुरी परेपछि अभिनेता शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। अभिनेता शाहले आत्मसमर्पण गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमार्फत शाहविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि सात दिनको म्याद लिएको थियो।
पहिलोपटक थपिएको सात दिन सकिएकै दिन आज प्रहरीले जिल्ला अदालत तनहुँमा उपस्थ्ति गराएर “अनुसन्धान गर्न अझै बाँकी रहेको” भन्दै थप समय मागेको थियो। प्रहरीले माग गरे बमोजिम अदालतले अभिनेता पल शाहविरुद्ध थप अनुसन्धान गर्न अरु १२ दिन म्याद दिएको प्रहरीले जानकारी दिएको छ।