सुनसरीको धरानस्थित एक होटलमा एक अधवैंशे महिला मृत भेटिएकी छिन्। सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’को कोठा नम्बर १०९ मा आज बिहान अन्दाजी ३०-३५ वर्षीय महिला मृत भेटिएकी हुन्।
प्रहरीका अनुसार, दुई दिन देखि एक पुरुषसंग बस्दै आएकी ती महिलालाई आज बिहान होटलका सफाई कर्मचारीले मृत देखेकी थिइन्। कोठा सफा गर्न जाँदा ढोका खुल्लै देखेपछि भित्र गइ हेर्दा ती महिला मृत देखेको बताइएको छ। त्यस पछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले घटनास्थलबाट सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला पारेपछि सनाखतका लागि उनका परिवारजनलाई बोलाइएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले जानकारी दिए।
धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार, मृतक महिलाको साथबाट फेला परेको नागरिकता वमोजिम सोही ठेगानामा खोजी गर्दा उनका छोरा र छोरीबाट पहिचान खुलेको हो ।
तामाङ इटहरी उपमहानगरपालिका–५ तुलसा टोलमा विगत ५ वर्षदेखि बसोबास गर्दै आएको उनका छोराछोरीले बताएका छन् । महिलाका श्रीमान् भारतीय सेनाका पूर्वगोर्खा सैनिक रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको पाइएको प्रहरीले जनाएको छ ।
महिलाको शरीरमा चोट पटक लागेको देखिएको बताइएको छ। प्रहरीले उनको हत्या गरिएको आशंका गरेको छ।
सोमबार बेलुकासम्म संगै बसेका पुरुष भने बेपत्ता छन्। हाल फरार रहेका पुरुष को थिए र उनीहरुको सम्बन्ध के थियो भन्ने बारे अनुसन्धान भैरहेको एसपी थापाले बताए ,