जिल्ला अदालत कास्कीले लागूऔषध मुद्दामा पक्राउ परेका र्यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीकाे इजलासले मंगलबार लाउरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीसँगै पक्राउ परेका अरु ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।
अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका-२१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका- ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका- ८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
लागूऔषध प्रयोग तथा कारोबार गरेको आरोपमा गत पुस १४ गते साँझ प्रहरीले लाउरेसहित चार जनालाई पोखराको सिर्जना चोकबाट पक्राउ गरेको थियो ।
उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ। उनीहरूबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
जाल्पारोडमा ब्राउनसुगर खरिद-बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।
टोलीले उनीहरूलाई बाटोमा फेला परी चेकजाँच गर्दा ०.५१ ग्राम ब्राउनसुगर फेला परेको थियो। त्यसबारे उनीहरूमाथि सोधपुछ गरी प्रहरी सभागृहस्थितमा रहेको सुस्मिताको कोठामा पुगेको थियो।
त्यहाँ लुकाएर राखेको थप १२.५० ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ। प्रहरीले उनीहरूबाट एउटा डिजटल तराजु, ३८ हजार ३५० रुपैयाँ, ५ वटा मोबाइल र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरेको छ।
लाउरे टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक पनि हुन्। र्याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए।
उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागालगायत गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।