पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले दिएको जानकारी अनुसार, बाक्लो असिना पानीका कारण केही पशुपन्छी मरेका छन् भने फलेका तरकारी तथा फलफूलसहित बालीनाली नष्ट भएका छन् ।
पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ का तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेकोमा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए ।
कडरियाले राज्यले किसानलाई दिएको बिमा सुविधा सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताए ।
पोखरा महानगरका कुल ३३ वडामध्ये दुई हजार एकसय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल तीन सय २० हेक्टर क्षेत्रफलमा, आलु एक हजार दुई सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।
पोखरामा गत फागुन ८ गते आइतबार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए ।