बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अदालतले दोषी ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।
जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्या गरेको आरोप लागेका उनकै सहपाठी दिनेश भट्टलाई दोषी ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजाय तोकेको हो ।
जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेको बताइएको छ। प्रहरीले पक्राउ परेका दिनेश भट्ट र मृतक भागीरथी भट्टको डीएनए परीक्षणका लागि राष्ट्रीय बिधि बिज्ञान प्रयोगशालामा पठाएको थियो।
गत मंसिर १९ गते भएको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘डीएनए परीक्षण प्रतिवेदनबाट किशोरले मृतकलाई जबर्जस्ती करणी गरेको हो भन्ने वैज्ञानिक परीक्षणबाट समेत पुष्टि भएको पाइयो ।’
जिल्ला अदालतले आरोपित भट्टमथि जबर्जस्ती करणी (बलात्कार) का साथसाथै हाडनाता करणी र ज्यान मारेको आरोपमा दोषी ठहर गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा ४१ मा जबर्जस्ती करणी गरी ज्यान मारेमा जन्मकैदको सजाय गर्दा आरोपित जीवित रहेसम्म सजाय गर्नुपर्छ भन्ने व्यवस्था छ ।
तर हत्याको आरोप लागेका दिनेश नाबालक रहेको ठहर गर्दै जिल्ला अदालतले २५ वर्षको आधा अर्थात १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।
प्राप्त जानकारी अनुसार, बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको २०७७ साल माघ २१ गते सहपाठी दिनेश भट्टले बलात्कारपछि हत्या गरेको आरोप थियो। त्यस दिन दिउँसो २ बजे विद्यालयबाट फर्कने क्रममा नजिकैको खोचलेक बजारमा पुगेपछि सम्पर्कविहीन भएकी थिइन् । तर त्यसको भोलीपल्ट उनी नजिकैको जंगलमा सडकबाट करिव सय मिटर तल मृत भेटिएकी थिइन् ।
२१ माघ २०७७ मा भागरथी विद्यालय गएकी थिइन् । विद्यालयमा विदा भएपछि दिउँसो २ बजे उनी नजिकैको खोचलेक बजारमा पुगेको पुष्टि हुन्छ तर त्यसपछि सम्पर्कविहीन हुन्छिन् । उनको मोवाइल पनि स्वीच अफ हुन्छ । भोलिपल्ट नजिकैको जंगलमा सडकबाट करिव सय मिटर तल उनको शव भेटिएको थियो । टाउकोमा चोट, घाटी दबिएको, अनि खुट्टाको औलामा घाउ भएको र गुप्तांगमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । शव नजिकै उनको मोवाइल फेला परेको थियो ।
घटनापछि पक्राउ परेका युवक दिनेश भट्टले आफूले भागरथीलाई धकेलेर लडाएको, त्यसपछि बाटो तल पु¥याएको र बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए ।