चितवन राष्ट्रिय निकुञ्जभित्र कार्यरत तात्कालिन सैन्य हुद्दा चिरणकुमार बुढालाई जन्मकैद (२५ वर्ष) को सजाय भएको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र सैनिकको यातनाबाट गम्भीर घाइते भई उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मृत्यु सम्बन्धि मुद्दामा पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैद (२५ वर्ष) को सजाय गर्ने फैसला गरेको हो।
रजिस्ट्रार कैलाश भट्टराईले दिएको जानकारी अनुसार, बुढाको यातनाका कारण घाइते भएका चेपाङको ०७८ साउन ८ गते अस्पतालमा उपचार क्रममा मृत्यु भएकामा जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीले गत असार २८ गते बुढालाई नौ महिना कैद, नौ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेका थिए । त्यसविरुद्ध पीडितका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो । नौ महिना सजाय हुने गरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए ।
बर्दियाको गेरुवा गाउँपालिका–५ का बुढाको हेलचेक्र्याइँले मात्र चेपाङको ज्यान गएको जिल्ला अदालतको फैसला थियो । २०७७ असोज ४ गते पक्राउ परेका बुढा त्यसपछि जिल्ला अदालतको फैसला आउन्जेल नौ महिना २४ दिन थुनामा बसेका थिए ।
सुरुमा प्रहरीले अनुसन्धान गर्न चासो नदेखाएपछि मानव अधिकारकर्मीले विरोध गरेका थिए । राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरम, थर्ड एलायन्स, इन्सेक, आईसीजेलगायत मानव अधिकारसम्बन्धी संस्थाले स्थलगत अनुसन्धान पनि गरेका थिए ।
राजकुमार चेपाङ आफ्ना अन्य ६ जना साथीसहित अम्बा, निबुवाजस्ता जंगली फलफूल र घोंगी खोज्न राप्ती नगरपालिका नजिकैको राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेका थिए । त्यसक्रममा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोलीले कुटपिट गर्दा राप्ती नगरपालिका–२, मिलनटोलका चेपाङसहितका सात जना घाइते भएका थिए । तीमध्ये चेपाङको मृत्यु भएको हो भने बाँकी ६ जनाले प्रहरी र अदालतमा गरेको बयानमा आफूहरूले पनि यातना पाएको बताएका थिए ।
साथमा कुनै हातहतियार नभएका उनीहरूलाई निकुञ्जभित्रको खोलामा घोंगी खोजिरहेको अवस्थामा सैनिक टोलीले दिउँसो १ बजे नियन्त्रणमा लिएको थियो । राजकुमारसँगै राप्ती–२, मिलनटोलका सन्तोष चेपाङ (२५), बमबहादुर मगर (३२), दिलमाया चेपाङ (२५), माया राई, पूर्ण चेपाङ (२३), सन्तलाल प्रजा (३२) र गोपीराम प्रजा (३२) पक्राउ परेका थिए । उनीहरूले मानव अधिकारकर्मीलाई बताएअनुसार पाँच जना पुरूषलाई सैनिकले एक–एक गरी बुट र लाठीले पिटेका थिए । ती सैनिकले पाँचै जनालाई भुइँमा सुत्न लगाएर ढाडमा बुटले हिर्काएका थिए भने १०० पटकसम्म उठबस र पुसअप गर्न लगाएका थिए । सातै जनालाई ठुल्ठूला मुढा बोकाएर निकुञ्जको कार्यालयसम्म पुर्याउन लगाएका थिए । निकुञ्जका कर्मचारीले उनीहरूलाई दुई घण्टा नियन्त्रणमा राखे र सातै जनाको तस्बिर खिचेर व्यक्तिगत विवरण राखी एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने बताएका थिए तर पीडितले आफूहरूसँग त्यत्रो रकम नभएको बताएपछि भोलिपल्ट आएर ५ सय रुपैयाँ तिर्नुपर्ने सर्तमा छाडेका थिए । बाटोमा हिँड्न पनि नसक्ने अवस्थामा पुगेका राजकुमारलाई साथीहरूले बोकेर घर पुर्याएका थिए ।