दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको हो ।
काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि शुक्रबार दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । फ्लाइ दुबईको एफजेड–५७२ विमानबाट दुबई जान लागेका त्यस जम्बो टोलीमा ३५ जना कलाकारहरु रहेको बताइएको छ।
गृह मन्त्रालयले तोकेको कागजपत्र र यूएईस्थित नेपाली राजदूतावासको ‘नो अब्जेक्सन लेटर’ नभएको पाइएपछि दुबई उड्नबाट रोकिएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
गृहमन्त्रालयको माघ ९ गतेको सूचना मार्फत् माघ १० गतेदेखि लागू हुने गरी विभिन्न मुलुकमा भिजिट भिसाको लागि जानेहरूलाई कडाइ गरिएको थियो । जस अनुसार कलाकारको टोलीमा पनि कलाकारका सञ्चालक लगायत केही व्यक्ति मात्रै जान पाउने व्यवस्था छ । तर उक्त व्यवस्था विपरीत ठूलो संख्यामा कलाकारहरू जाने तयारी गरेकाले मापदण्ड विपरीत जान लागेका कलाकारलाई फर्काइएको उपाध्यायले बताए ।