आफूलाई यूएनको इन्जिनियर र राष्ट्र बैंकको कर्मचारी भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। डोटी जिल्लाको सयल गाउँपालिका वडा नं -२ घर भएका २६ वर्षीय दिनेश सिंहलाई कास्की प्रहरीले इलाका प्रहरी कार्यालय रूपन्देहीसँगको समन्वयमा बुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार उनले पोखराका ट्याक्सी चालक तथा अन्य व्यक्तिहरुलाई यूएनमा आकर्षक जागिर लगाईदिने भन्दै १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका थिए। ठगीको उजूरी पश्चात अनुसन्धानमा खटिएको कास्की प्रहरीले सोमबार बिहान उनलाई पक्राउ गरी पोखरा ल्याएको हो।
प्रहरीका अनुसार उनले पोखराका बिनोद बि.क, होम बहादुर नेपाली,बुद्धी प्रसाद अधिकारी, स्याङ्गजा फेदीखोला गाउँपालिका -१ घर भइ हाल पोखरा -८ बस्दै आएका युके गुरुङ, पोखरा -५ रत्नचोक बस्ने ५६ वर्षीय युवराज पौडेल लगायतकालाई आकर्षक जागिर लगाइदिने भन्दै उक्त रकम ठगी गरेका थिए।
युवकले पीडित व्यक्तिहरुलाई प्रभावित तथा विश्वासमा पार्न बिभिन्न व्यक्तिहरूलाई फोन गरेको जस्तो बहाना गरी यूएनको गतिविधि तथा मिटिङको बारेमा फोनमा एक्लै कुरा गर्ने, पीडितको बैंक खाता खोल्ने लगायतका कार्यमा सहयोग गर्ने र पीडितहरूलाई कपडा, जुत्ता किनिदिनुका साथै होटलमा खाने बस्नेको व्यवस्था समेत मिलाउदै आएका थिए ।
पक्राउ परेका उनीबिरुद्ध महानगरीय प्रहरी परीसर महाराजगंज काठमाण्डौ, मकवानपुर, चितवन, ललितपुर, बाजुरा र धनगढी जिल्लामा पनि आपराधिक कार्यमा संग्लग्न रहेको प्रहरीले जनाएको छ। हालसम्म उनीविरुद्ध ७४ वटा ठगीका निवेदन परेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध हालसम्म ५२ पुरुष र २२ महिलाले निवेदन दिएका, निवेदन पश्चात आठ बटाको अनुसन्धान पुर्ण भएको, ६५ निवेदनको अनुसन्धान भईरहेको र एक निवेदन उपर मुद्दा दर्ता भएर कारवाही भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
प्रहरीले उनको साथबाट एक थान ल्याप्टप, दुई थान मोबाइल, पहेलो रंगको एक थान सिक्री, एक थान औँठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ।
ठग्ने क्रममा उनले ठगिने व्यक्तिलाई नै सिम कार्ड निकाल्न लगाउने गरेको, पीडितहरुलाई विश्वास दिलाउन बिभिन्न व्यक्तिहरूलाई फोन गरेको जस्तो बहाना गरी युएनका गतिविधि तथा मिटिङको बारेमा फोनमा एक्लै कुरा गर्ने गरेको, पीडितको बैंक खाता खोल्ने लगायतका कार्यमा सहयोग गर्ने, पीडितहरूलाई कपडा, जुत्ता किनिदिने, बस्ने, खाने व्यवस्था मिलाइदिने र आर्थिक कारोबार सकिए पछि मोबाईल र सिम कार्ड डिस्पोज गरिदिने, यात्रा गर्दा पीडितको नागरिकताको नाममा रजिष्ट्रेशन गर्ने गरेको प्रारम्भीक अनुसनधान पछि खुलेको तिवारीले बताए ।
उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर अन्तर्गत सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।