नवलपुरको कावासोतीमा अटो चालकको हत्या गरेर भागेका युवा झापाबाट पक्राउ छन्। गएको माघ १७ गते राति कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका अटो चालक माधवप्रसाद गिरीको हत्या गरेर भागेका कावासोतीकै २० वर्षका पृथ्वी भुजेललाई प्रहरीले नेपाल भारत सीमाको काँकडभित्ताबाट बुधबार साँझ पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार, अभियुक्त भुजेललाई प्रहरीले आबश्यक अनुसन्धानका लागि झापाबाट नवलपुर ल्याएको छ।
गिरी र भुजेल घटना भएको दिन राति सँगै बसेर मदिरा सेवन गरेको र पछि भुजेलले नै गिरीकाे हत्या गरेको प्रहरीको दावी छ । गिरीको हत्यापछि फरार रहेका भुजेलविरुद्ध गिरीको परिवारले किटानी जाहेरी समेत दिएको छ ।
५२ वर्षका अटो चालक माधवप्रसाद गिरीको हत्या गरी शव घोलको हिलोमा गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा भेटिएको थियो ।