स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् ।
सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिए ।
प्रा.डा. बज्रचार्यका अनुसार १०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उनले बताए ।
कोरोना भए/नभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परिवारका सदस्य अजरमान जोशीले भने, ‘स्वास्थ्य ठिक छ। आज सिटी स्क्यान गरिएको छ । अरु पनि परीक्षण भइरहेको छ । उहाँले किताब पढ्दै हुनुहुन्छ । अघिभन्दा एकदम फ्रेस हुनुहुन्छ ।’
जोशीलाई अझै एकसाता अस्पतालमा बस्नुपर्ने अस्पतालका चिकित्सकले बताएका छन् । डा. जोशी आउँदो वैशाख ३० देखि १०३ वर्षमा प्रवेश गर्दैछन् ।