दुई महिनाको गर्भवती श्रीमती हत्या गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट श्रीमान् र ससुरालाई पक्राउ गरेको छ।
कफिनमा राखेर गाडिएको अवस्थाको गर्भवती महिलाको शब उत्खनन गरेर पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले अनुसन्धानका लागि भन्दै प्रहरीले मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरेको हो ।
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका-८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई हत्या गरेको आरोपमा उनका श्रीमान २२ वर्षीय मोहम्मद नसिम अलि मुसलमान र निजको बुवा ५० वर्षीय अब्बास अलि मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृतक महिला दुई महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले शुक्रबार गाडेको शव उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
डिएसपी भण्डारीका अनुसार माघ १९ गते राति बिरामी थिइन् । पछि झुन्डिएर मृत्यु भई भन्दै केही छिमेकीलाई समेत बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएको थियो । बिहिबार साँझ ८ बजे मात्र झुण्डाएर हत्या गरी शव सदगत गरेको भन्ने सूचना पाउन साथ प्रहरी त्यहाँ शव पुगेर उत्खनन गरेको थियो । लगत्तै हत्या आशङ्कामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरिरहेको छ ।
मृतक युवतीको माइती घर सीमा क्षेत्रको भारतमा हो । उनीहरू बीच ९ महिना अघि मात्र विवाह भएको बताइएको छ ।