मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा खाल्डो खनेर गाडिएका दुवै व्यक्ति जग्गाको कारोवारी भएको खुलेको छ। सो उखुबारीमा फेला परेको अर्को शबको पनि शनिबार सनाखत भएपछी दुवै जना जग्गा कारोवारी भएको खुलेको हो।
उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए ।
घटनाको अनुसन्धानको क्रममा अर्को शव सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले चौधरीको मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेको जानकारी दिए।
प्रहरी उपरीक्षक जिसीका अनुसार एकै समयमा सम्पर्कविहीन भएका दुईमध्ये श्रेष्ठको सम्पर्कका आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो ।
गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै श्रेष्ठ काठमाडौंबाट पूर्वतर्फ आएका थिए । चौधरी पनि उनीसँगै आएको प्रहरी निष्कर्ष छ । लेनदेनको विवादमा दुवै जनाको सँगै हत्या भएको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । प्रहरीले विराटनगर, झापा र काठमाडौंका केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरिरहेको छ ।
गत बुधबार उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको प्रहरीले बुधबार एउटा खाल्डोबाट चौधरीको शव फेला पारेको थियो । शव भेटिएको स्थानबाट करिब ३० मिटरको दुरीमा रहेको अर्काे खाल्डोमा श्रेष्ठको शव फेला परेको थियो ।
प्रहरीका अनुसार दुवै जनाको हत्यापछि गाड्ने प्रकृति एउटै थियो । छुट्टाछुट्टै स्थानमा शव गाडिएको भए पनि दुवैको घाँटीमा डोरीको डाम थियो । बिजुलीको पोल गाड्ने जस्तो खाल्डोमा नुन हालेर गाडिएका दुवैलाई यातनापछि हत्या गरेर उखुबारीमा गाडेको जस्तो देखिएको प्रहरी स्रोतको भनाइ छ ।