मोरङको एक उखुबारीमा गाडेको अवस्थामा दुई शब भेटिए

मोरङको एक उखुबारीमा गाडेको अवस्थामा दुई शब भेटिए


  • जन संचार
  • बिहिबार, १३ माघ २०७८
  • 2.4K
    Shares

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित गङ्गा सिंहको उखुबारीभित्र गाडिएको अवस्थामा दुई वटा शव फेला परेको छ ।
बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद खाल्डो भेटिएपछि शंका लागेर बुधबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सुचना पाउनासाथ घटनास्थल पुगेको प्रहरीले ३५ वर्षको जस्तो देखिने पुरुषको शव उत्खनन् गरि पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको मोरङ प्रहरीले जनाएको छ । बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको खुलेको उनले बताए ।

प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम छ ।

एसपी जिसीका अनुसार बुधबार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन । दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

१५ देखि २० दिन पहिल्यै शव गाडिएको हुनसक्ने अनुमान गरेको प्रहरीले दुवै शव छिटो गलाउन शवमा नुन हालेको अनुसन्धानका क्रममा खुलेको बताएको छ ।

घटनास्थलमा थप अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली परिचालन छ । शवको पहिचान हुन बाँकी छ ।

प्रतिक्रिया