नारायणहिटी दरबार संग्रहालय प्रकरण: छानबिन समितिले दोषी देखाएपछि कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

नारायणहिटी दरबार संग्रहालय प्रकरण: छानबिन समितिले दोषी देखाएपछि कार्यकारी निर्देशक दाहालले दिए राजीनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ पुष २०७८
  • 6.1K
    Shares

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।

नारायणहिटी परिसरको क्यान्टिन भाडामा लगाउँदा विवादमा तानिएका दाहालले मंगलबार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्। तर, दाहालले राजीनामा बुझाएको औपचारिक जानकारी न्यौपानेले दिएका छैनन्। मन्त्री प्रेम आलेले भने दाहालले राजीनामा दिएको पुष्टि गरे।

राजीनामा पत्रमा उनले ‘संग्रहालयको बोर्डले २०७६ फागुन १९ गते तत्कालीन संस्कृति सचिव तथा समितिका अध्यक्ष केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको समितिको निर्णयनुसार संग्रहालयमा रहेको क्याफ्टेरिया भाडामा दिन प्राविधिक र आर्थिक प्रस्ताव माग गरी टेण्डर प्रक्रियाबाट बोलपत्र आह्वान गरी दररेट निर्धारण समेत गरी तीन वर्षको अवधिको लागि भाडामा दिइएको हो,’ भनेका छन्।

त्यस्तै, क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने पनि शर्तमा उल्लेख भएको उनले भनेका छन्। तर बतासले संग्रहालयसँग कुनै समन्वय नगरी वातावरणीय सुधारका लागि तोकिएको क्षेत्रमा आफूखुसी अस्थायी संरचना निर्माण गरेको आरोप लगाए।

त्यस्तै, मौखिक रूपमा संग्रहालयको स्वीकृतिबिना किन निर्माण गरिएको भन्ने प्रश्न सोध्दा समेत अटेर गरिएको उनले पत्रमा उल्लेख गरेका छन्।
दाहाल नारायणहिटी दरबार संग्रहालय विकास समितिमा २०७६ साल पुसमा नियुक्त भएका थिए। तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले पुरातत्व विभागबाट रिटायर्ड भएका सहसचिव दाहाललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए।

दाहाल नारायणहिटी प्रवेशपछि बतास समूहलाई क्यान्टिन भाडामा लगाइएको थियो। तर, बतासले क्यान्टिनसँगै राजाहरूले प्रयोग गर्ने बंकर र वरिपरिको १४ रोपनी जग्गामा भौतिक संरचना बनाएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले सोमबार प्रतिवेदन दिँदै दाहालको कमजोरी औंल्याएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार