निर्माण सामाग्री बोकेको मिनी ट्रक गोरखामा दुर्घटना : तीन जनाको निधन, तीन जना यात्री घाइते

निर्माण सामाग्री बोकेको मिनी ट्रक गोरखामा दुर्घटना : तीन जनाको निधन, तीन जना यात्री घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ पुष २०७८
  • 3.5K
    Shares

गोरखाको आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा दुई वर्षीया बालिकासहित तीन जनाको निधन भएको छ भने अन्य  तीन जना यात्री घाइते भएका छन् । आरुघाटबाट निर्माण सामाग्री बोकेको बा ५ ख ६५६६ नम्बरको ट्रक माछाखोलाबाट एक किलोमिटर वरै सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनमा परेको प्रहरीले जनाएको छ ।

उक्त ट्रक दुर्घटना हुँदा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का २३ वर्षीय निराजन नेपाल र सोही वडाका दीपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

दुर्घटनामा गभ्भीर घाइते नेपाललाई घटनास्थलबाट उद्वार गरी मेडिकल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो भने परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाल ट्रक चालक र परियार सहचालक थिए।

यस्तै उपचारको क्रममा धार्चे गाँपालिका–३ उहियाकी दुई वर्षीया सपना गुरुङको पनि मृत्यु भएको छ । उपचारको क्रममा उनको माछाखोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सपना दुर्घटनामा घाइते भएकी शरणीकी छोरी हुन् । दुर्घटनामा परी घाइते भएका २६ वर्षीया शरणी गुरुङ र धार्चे गाउँपालिका–५ माछाखोलाका अस्मिता गुरुङलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये धार्चे गाउँपालिका–३ का आशमान गुरुङलाई उद्वार गरी उपचारका लागि आरुघाटस्थित आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।

आरुघाटबाट रड सिमेन्ट लगायत निर्माण सामग्री बोकेको बा ५ ख ६५६६ नम्बरको ट्रक माछाखोलाबाट एक किलोमिटर वरै सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनामा परेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट थप प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार