कैलालीकी एक महिलाको मृत्यु प्रकरणसंग जोडिएको भनिएका नेपाली कांग्रेसका एक स्थानीय नेतालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।
मंसिर ८ गते तल्लागडा जंगलमा मृत फेला परेकी कैलालीको धनगढी उपमहानगरपालिका–१७ डमौलियाकी २५ वर्षीया शारदा देउवा मृत्यु प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका स्थानीय नेता भक्त सिराडीलाई धनगढीको क्याम्पस रोडबाट प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले देउबालाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएको छ। उनको मृत्युको कारण सिराडीसँगको अवैध सम्वन्धलाई मानिएको समाचार स्रोतको दाबी छ। तर यसको पुष्टि हुन बाँकी रहेको प्रहरीको दाबी छ।
सिराडीसँगको अवैध सम्वन्धकै कारण देहत्याग गर्न पुगेकी भनिएकी शारदाका आफन्त तथा छिमेकीले सिराडी नै मुख्य कारक भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। तर घटनाको ३५ दिनपछि मात्र प्रहरीले सिराडीलाई पक्राउ गरेको हो। ‘सिराडीको नाममा जाहेरी नै ढिला आएकाले पक्राउ गर्न समय लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रेम खड्काले दाबी गरे ।
काँग्रेसका स्थानीय नेता रहेका सिराडी राजनीतिक रुपमा राम्रै पहुँच भएका व्यक्ति हुन। सोही कारण उनलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरेको स्थानीयको आरोप छ। शारदाको मृत्युको खबर सुन्ने वित्तिकै सिराडी गाउँबाट १५ दिन फरार भएका थिए। त्यसपछि गाउँमै रहे पनि प्रहरीले पक्राउ गरेको थिएन।