रोल्पामा एक व्यक्तिले संगै सुतेका तीन साथीहरुलाई छड प्रहार गरेर घाइते बनाएका छन्। रोल्पाको रुन्टीगढी गाउँपालिकास्थित होलेरी बजारस्थित होलेरी गेष्ट हाउसमा संगै सुतेका रुन्टीगढी-९ का ४६ वर्षीय टेकबहादुर वलीले छड प्रहार गरेर आफ्ना तीन साथीहरुलाई घाइते बनाएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार, वलीले छड प्रहार गरेर न्टीगढी गाउँपालिका-७ का ४२ वर्षीय भीमबहादुर थापा, ३९ वर्षीय सरोज पुन र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका-४ घर भई नेपालगन्ज बस्ने ४३ वर्षीय मैतबहादुर बिक गम्भीर घाइते बनाएका छन्।
चारै जना मंगलबार राति गेष्ट हाउसको एउटै कोठामा सुतेकोमा सबै जना सुतिसकेपछि वलीले एकाएक तीनै जना साथीहरूमाथि रडले हानेको पाइएको डिएसपी घिमिरेले जानकारी दिए । घाइतेमध्ये थापा र बिकको बाँकेको कोहलपुरमा र पुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
घाइते सबैको टाउको र अनुहारमा गहिरो घाउ खत रहेको सबैजना अचेत रहेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका वलीलाई प्रहरीले बुधबार रुन्टीगढी-५ हातखोलाबाट नियन्त्रणमा लिएको छ। घटनास्थलबाट प्रहरीले फलामको रड फेला पारेको छ।
प्रहरी नायब उपरीक्षक घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको र नियन्त्रणमा लिइएका वलीसँग सोधपुछ गर्न बाँकी नै रहेको बताए।