अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरी नेपाली नागरिक ठगी गर्ने भारतीयहरूको गिरोहका तीन सदस्यलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।
चितवनमा अबैध रुपमा संचालित ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायका संचालकमध्येका २८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले उनीहरूलाई भरतपुरमा रहेको सिजी ल्याण्डमार्कको फर्न रेसिडेन्सी चितवन होटलबाट नियन्त्रणमा लिइएको जानकारी दिए । होटलमा केही मानिस जम्मा गरेर नेटवर्किङमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अधिकारीले बताए।
एसपी अधिकारीका अनुसार, उनीहरूले ‘क्यु नेट’ नामक नेटवर्किङ सञ्चालन गरिरहेका थिए । उनीहरूले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताए । उनीहरूले थप मानिसलाई सदस्य बन्न प्रेरित गरिरहेका थिए ।
कति मानिस सदस्य बने भन्ने कुरा अझै पनि अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । उनीहरूविरुद्ध ठगीमा परेकाहरुले ठगी मुद्दामा प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् । ‘क्यु नेट’ दर्ता पनि नगरिएको र यो नितान्त ठग्ने उद्देश्यले आएको प्रारम्भिक अनुसन्धानमा खुलेको अधिकारीले बताए ।
यी गतिविधि सिमानामा पर्ने नेपालका अन्य सहरमा पनि सञ्चालन गरेको हुनसक्ने अनुमान रहेको बताउँदै उनले यसबारे पनि अनुसन्धान हुने बताए । प्रहरी उपरीक्षक अधिकारीले भने, “नेपालमा पिरामिड शैलीमा हुने नेटवर्किङ अवैध छ । त्यसैले नेपालमा यो सञ्चालन गर्न पनि पाइँदैन । सदस्य पनि बन्न पाइँदैन । कोही पनि यो नेटवर्किङमा नलाग्नु हुन म आग्रह गर्दछु ।