युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ वडा नम्बर २ बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेमन्तलाई बुधबार विहान ०५ : ४५ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ४ नयाँथिमी मध्यपुर अस्पताल नजिकैबाट र प्रेमलाई बुधबार बिहान ०९:४५ बजे काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
लेनदेनसम्वन्धि विवाद भइरहँदा श्रेष्ठलाई सुर्यविनायक नगरपालिका–३ बालकोट निवासी २८ बर्षीय हेमन्त श्रेष्ठले मोरङ लेटाङ घर भई बालकोट बसेर मजदुरी गर्ने ३० वर्षीय प्रेम बिश्वकर्मासँग मिलेर हत्या गर्ने योजना अनुसार मंसिर २१ गते राति करिब पौने १० बजे फर्मा राख्ने काठले टाउकोमा हानेर विभत्स रुपमा हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जनाइएको छ ।

अनुसन्धानका क्रममा घट्ना भएको मितिको करिब ३ दिन अगाडिदेखि नै हेमन्त र प्रेम मिलेर राजनको हत्या गर्ने योजना बुनिरहेको र मंसिर २१ गते बेलुका ८ बजेको समयमा गठ्ठाघरस्थित बर्गर हाउसमा राजन र हेमन्त चिया पिउँदै गफ गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।
दुईबीच केही कुराकानी भएपश्चात चारदोबाटो बालकोट जाने हनुमन्ते पुल पारी दाईले पैसा लिएर आएको छ भन्दै राजनलाई हेमन्तले मोटरसाइकलमा राखेर लगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुर्यविनायक नगरपालिका वडा नं.२ बालकोट बसीटोल हुनुमन्ते खोला नजिक फलामे पुल मुनी खाली जग्गामा हेमन्त र प्रेम मिलेर कुटपिट गरिरहेको स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेको थियो ।
घट्नास्थलमा महानगरीय प्रहरी वृत थिमीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घट्नास्थलमा पुगी घटनाको मुचुल्का उठाइ मध्यपुर अस्पताल पुर्याएको थियो । घट्नाको प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न दुवैलाई प्रहरीले मंसिर २२ गते नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत थिमीले जनाएको छ ।