मोजमस्तीका लागि दोलखामा सुरक्षागार्ड मामाको हत्या : एकमहिनापछि दुई जना काठमाण्डौबाट पक्राउ

मोजमस्तीका लागि दोलखामा सुरक्षागार्ड मामाको हत्या : एकमहिनापछि दुई जना काठमाण्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ मंसिर २०७८
  • 3.5K
    Shares

मोजमस्ती गर्न आबश्यक पर्ने पैसाका लागि नाताले मामा पर्ने दोलखाको एक सहकारीका सुरक्षा गार्डको हत्या गरेर भागेका दुई जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-१ जुगुका २७ वर्षीय विक्रम कार्की र सोही ठाउँका २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो। उनीहरुलाई आज (बिहीबार) तीनकुने र चुच्चेपाटीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।

प्रहरीले उनीहरुबिरुद्ध गएको कार्तिक १० गते राती नाताले मामा पर्ने गौरीशंकर गाउँपालिका–१, जुगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारीका रक्षागार्ड ६७ वर्षीय पूर्णबहादुर खड्कालाई बन्धक बनाएर हत्या गरेको अभियोग लगाएको छ।

प्राप्त समाचार अनुसार, भक्तपुरमा बीबीएस पढ्दै गरेका दोलखाका २० वर्षीय सुमन कार्कीले राम्रो कपडा लगाउन र मोजमस्ती गर्न आबश्यक पर्ने पैसाका लागि नाताले मामा पर्ने पूर्णबहादुर खड्का कार्यरत हिमचुली बहुउद्देश्यीय सहकारी लुट्ने योजना बनाए । त्यसका लागि उनले मामासंग पनि सहयोग मागे।  तर मामाले सहयोग गर्न नमानेपछि मामाकै हत्या गरेर त्यस सहकारीको एक लाख ८५ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीको भनाई छ।

प्रहरीले दिएको जानकारी अनुसार, नाताले मामा पर्ने पूर्णबहादुर खड्का कार्यरत सहकारी नै लुट्ने योजना मुताबिक सामान्य झारफुकको काम समेत गर्ने सुरक्षा गार्ड खड्कालाई सुमनले बिक्रम बिरामी परेको भन्दै झारफुक गर्न बोलाएका थिए।  खड्का आफ़ुसम्मा आइसके पछि सहकारीको रकम लुट्न सुमनले सुरक्षागार्ड खड्कासँग सहकारीको चाप़ी मागेका बताइएको छ।

सुरक्षागार्ड खड्काले चापी नदिएपछि जंगलमा लगेर डोरीले उनको हात खुट्टा बाँधेर खादाले मुख थुनेर चाबी खोसी सहकारीको ताला खोलेर रकम लुटी भागेको प्रहरीको भनाई छ। सुरक्षा गार्ड खड्काको शब दुई दिनपछि हात पछाडि पट्टि बाँधिएकोमुखमा खादा कोचिएको र निधारमा चोट लागेको अवस्थामा फेला परेको थियो।
उनीहरुले खड्काको हत्या गरेपश्चात त्यहाँबाट भागेर मुस्ताङ घुम्न गएको र त्यहाँ चार दिन बिताएपछि फर्किएर काठमाडौंमै लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ।
प्रहरीले अभियुक्तहरुको साथबाट मृतक खड्काको लुटिएको एक थान मोबाइल र सहकारीबाट लुटेको एक लाख ८५ हजार रुपैयाँ मध्ये एक लाख ३५ हजार दुईसय ३५ रुपियाँ बरामद गरिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार