मनाङका एक वडाध्यक्षसहित चार जनालाई प्रहरीले लमजुङको सदरमुकाम बेशिशहरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनाङ ङिस्याङ गाउँपालिका ५ का वडाध्यक्ष ५८ वर्षीय कर्मा छिरिङ गुरुङ, गोरखाको पालुङटार नगरपालिका १ का २७ वर्षीय सोमबहादुर नेपाली, गोरखाको बारपाक सुलीकोट गाउँपालिका १ का २८ वर्षीय तीर्थराज घले र मनाङ ङिस्याङ गाउँपालिका ५ का ५२ वर्षीया छिरिङ साङमा घले रहेका छन्।
उनीहरुलाई प्रहरीले बेंसीसहर नगरपालिका ७, मनाङे चौतारा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। हिमाली जिल्ला मनाङबाट बेंसीसहर हुँदै काठमाडौं लैजाँदै गरिएको अवस्थामा उनीहरुको साथबाट अबैध रुपमा चोरी निकासी गर्न लागिएको सातसय आठ किलोग्राम धुपी र तीनसय ग्राम गुच्छी च्याउ बरामद भएको प्रहरीको दाबी छ।
पनि
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को एरियामा बिना पुर्जी जडिबुटी संकलन तथा बिक्री-वितरण गर्न बन्देज छ। उनीहरुको साथबाट कुनै पनि पुर्जी वा संकलनका लागि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीका अनुसार, गोरखाको पालुङटार नगरपालिका १ का २७ वर्षीय सोमबहादुर नेपालीले चलाएर ल्याएको ग१ज ७२२१ नम्बरको बोलेर जिपबाट २६३ किलो धुपीको पात र गोरखाको बारपाक सुलीकोट गाउँपालिका १ का २८ वर्षीय तीर्थराज घलेले चलाएर ल्याएको ग१ज ७७३७ नम्बरको जिपबाट २ सय किलो धुपीको पात र ३ सय ग्राम गुच्छी च्याउ बरामद गरिएको छ ।
उनीहरुले ल्याएर बोराभित्र लुकाइछिपाई राखिएको अवस्थामा दुई सय ४५ किलो धुपीको पात मनाङे चौतारास्थित तिलिचो होटलको बरन्डाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद अवैध धुपी र गुच्छी च्याउसहित मानिसलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि बुधबार डिभिजन वन कार्यालय, लमजुङमा पठाइएको प्रहरीले जनाएको छ ।