राजतन्त्र र निरपेक्ष हिन्दु राष्ट्रको पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमल थापा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।
१७ गतेसम्म चल्ने महाधिवेशनबाट १४७ सदस्यीय राप्रपाको नयाँ केन्द्रीय कार्य समिति चयन हुनेछ । यस पटक राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । अध्यक्षका लागि नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष अध्यक्षका स्वभाविक दावेदार छन् ।
नेपालगञ्जका मेयरसमेत रहेका डाक्टर धवलशम्शेर जबराको समर्थनमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गरेका छन् ।यसबाहेक उनलाई युवा नेताहरूले पनि साथ दिएका छन् ।
झण्डै चार हजार प्रतिनिधिहरू सहभागी हुने महाधिबेशनबाट १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ । कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।