तरुण तपसी /
यतिखेर नेपालभरि नै याम्दीदेखि फेदीसम्मको हेमजा सडक सामाजिक सञ्जालभरि भाइरल भइरहेको छ । यो भाइरलपनले दिने-बुझिने केही सन्देश निम्नानुसार छन्-
१. बिचरा नेपालीहरू खुला र फाराकिलो सडकका कति भोका छौं भने नेपालभरि कतै पनि थोरै दूरीको सही त्यस्तो रोड बन्यो भने वाहवाही हुन्छ । कता राम्रा सडक छन् भनेर तडफिएका छौं । हामीलाई चिल्ला सडक रहर हुन्, सपना हुन्, युरोपको भाग्यका कुरा हुन् भन्ने मात्रै लाग्छ । झुक्किएर कुनै पनि राम्रो कुरा बन्यो भने हामीलाई सपनासरि हुन्छ । भारतमा भर्खर मात्रै पूर्वाञ्चल एक्सप्रेस वे बनेर प्रम. नरेन्द्र मोदीबाट उद्घाटन भयो जहाँ गाडी मात्रै होइनन् जहाज पनि दौडन सक्नेछन् । छिमेकी देशमैं प्रविधि कहाँबाट कहाँ पुगिसक्यो हामी भने हेमजाको सडक देखाएर पूरै नेपालीलाई र्याल चुहाउन बाध्य बनाउँदै छौं ।

२. हालै मात्र नेपालका कैंयौं ठाउँको दृश्यावलोकनसहित उँचाइ हिन्दी फिलिमको शुटिङका लागि अनुपम खेर र बोमन इरानीसहितको एउटा टोली नेपाल आएर महिनौं शुटिङ गर्यो । त्यो टोलीले पर्यटनमा सकारात्मक सन्देश दिएर गएको छ । करोडौं खर्च पनि गरेको छ । हुन त भाइरल सडकको डिपिआर पहिला सानो आकारको थियो र पछि स्थानीय सरकारको पहलमा त्यति चाक्लो बनाइएको भन्ने कुरा आयो, यदि यो साँचो हो भने धन्यवाद पनि भन्नै पर्छ तर पनि यसमा नपुगेका कुरा अझै के छन् भने यसलाई पर्यटनसित सरोकार राख्ने सबैलाई सहभागी बनाएर योजना बनाउने हो भने अझै उच्चता दिन सकिन्छ । हाल यसका किनारभरिका पेटी पूर्ण रूपमा सफा छैनन्, ठाउँ-ठाउँमा अझै स्ल्याप छैनन्, भएका ठाउँमा मोटरसाइकल धुने, निर्माण सामग्री थुप्र्याउने, फोहोर फाल्ने लगायतका काम गरेर कुरूपता र असुविधा प्रदान गरिरहेकै छन् । बीचको भागमा द्रुततासहित फूल आदि वृक्षरोपण भएको छैन ।

सडक विभाजन गर्ने क्यारीलाई गुलमोहर आदि फूलहरूले सजाउन सकिन्छ । यसरी यसको सजावट र सफाइमा ध्यान दिने हो भने यो सडक भविष्यमा फिलिम शुटिङदेखि पर्यटकीय स्थल पनि बन्न सक्छ । यो सडकबाट देखिने हिमाली दृश्यले नै यसलाई पर्यटकीय रूप दिन सक्छ । हिन्दी मात्रै किन दक्षिण भारतका फिलिमका लागि पनि, नेपाली फिलिमका लागि पनि यसको प्रचार-प्रसार गर्न सकिन्छ । तर यति भनिरहँदा पोखराका तालहरू मेटिंदै गए भने यो सडकको मात्रै कुनै औचित्य छैन भन्ने कुरा पनि बिर्सनुहुँदैन । यो सडकका छेउछाउमा भएका पिकनिक स्पटहरू चिनेर स्थानीय सरकारले विकास गर्न सके अर्को आयको स्रोत पनि जन्मनेछ । पञ्चासे वा नागडाँडाबाट देखिने तालका दृश्यलाई पनि यही सडकसित गाँस्न सकिन्छ । छेउछाउमा रङहरू पोतेर मात्रै सडकको सुन्दरता बढ्ने हैन किनकि रङ दुई-चार दिनका रमझम हुन् तर स्थायी सुन्दरता यसको व्यवस्थापनमा हुन्छ । पेटी र पेटी वरपरको व्यवस्थापन महत्वपूर्ण हो ।

३. यो सडकसँगै फेदीबाट नयाँ पुलसम्म सुरूङ मार्ग बन्ने भन्ने कुरा पनि आएका छन्, यसो हुन सकेमा देशको अर्थतन्त्रमैं महत्वपूर्ण भूमिका खेल्नेछ । मुस्ताङ वा चीनको सीमानासम्म त यसको सोझो प्रभाव त छँदै छ ।
४. भाइरल सडकको पहिलो भाग हेर्दा रुन मन लाग्ने खालको छ भन्ने भाइरलवादीहरूलाई थाहा नहोला । याम्दीभन्दा पहिला सिमपानी भेकको सडक कसको आँखाबाट जोगिएको होला ? जिरो किलोमिटरबाट विन्द्यवासिनीसम्मको भागमा पनि त्यस्तै अव्यवस्था छ । सडक त सुन्दर बने तर व्यवस्था बन्न सकेका छैनन् ।
५. यो सडकमा पर्ने दुईवटा स-साना पुलहरूको त झनै दुर्दशा छ । चाक्ला बाटामा पर्ने साना पुलका रामकहानी अलग्गै छन् ।
६. यो सडकको स्तरोन्नति हुनुपूर्व पिकनिक खाएर निस्कने धेरै ठिटाठिटी शहीद भएका छन्, अब शायद शहीद नहोलान् भन्ने खुशी त छँदै छ तर साथसाथै आवश्यक ठाउँमा स्पिड ब्रेकरहरू नभएकाले अझै पनि केहीले ज्यान गुमाउलान् भन्ने सम्भावना पनि उत्तिकै छ ।