एमाले महाधिबेशन : कार्यकर्ताको रोजाई बिद्रोही एमाले कि पुर्व माओवादी ?

एमाले महाधिबेशन : कार्यकर्ताको रोजाई बिद्रोही एमाले कि पुर्व माओवादी ?


  • जन संचार
  • सोमबार, १३ मंसिर २०७८
  • 4.8K
    Shares

यति बेला चितवनको सौराहामा जारी एमालेको महाधिबेशनमा नयाँ नेतृत्वका लागि मतदानको तयारी भैरहेको छ।  मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरु महाधिबेशन प्रतिनिधि सामु हात जोडेर आफ्नो लागि मत मागिरहेका छन्।  उम्मेदबारहरुले मत मागिरहदा मतदाता रहेका महाधिबेशन प्रतिनिधिहरु अलमलमा छन्।

अहिलेको अवस्थामा नेकपा एमालेभित्र तीन धार देखिएका छन्।  तीन धारहरु मध्ये एउटा धारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन्, जो आफुलाई स्वर्गीय महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सच्चा अनुयायी दाबी गरिरहेको छ।  अर्को धारको नेतृत्व रामबहादुर थापा ‘बादल’ले गरिरहेका छन्।  उनको नेतृत्वमा रहेका अधिकांश नेता-कार्यकर्ता डबल नेकपा विभाजित हुँदा माओवादी केन्द्रमा नगई एमालेमा नै रहेका थिए र तेश्रो धारको नेतृत्व भिम रावलले गरिरहेका छन्।  सबल नेकपा विभाजित भएपछी बनेको नेकपा एमालेमा अन्तरसंघर्ष चर्को रुपमा रहदा तात्कालिन अवस्थामा नेता माधब कुमार नेपालको पक्षमा उभिएका तर नेपालले पार्टी विभाजन गर्दा नेपालको पार्टीमा नगई केपी शर्मा ओलीसंग १० बुँदे सहमति गरेर एमालेमै अन्तरसंघर्ष गरिरहेका नेता तथा कार्यकर्ताहरु भिम रावलको नेतृत्वमा पार्टीभित्र संघर्षरत छन्।

ओम हमाल
ओम हमाल

पहिलो धारको नेतृत्व गरिरहेका नेता केपी शर्मा ओलीले आफ्नो समुहलाई अलिक सुदृढ गर्दै अन्य धारका नेता-कार्यकर्तालाई बिस्तारै समेटेको जस्तो गर्न खोजिरहेका थिए।  त्यसका लागि उनले कसैलाई राष्ट्रपति त कसैलाई उपराष्टपति पद दिने उधारो आस्वासन दिएका थिए।  नेकपा एमालेभित्र संख्यात्मक रुपमा अति न्यून रहेको ठानिएको रामबहादुर थापा समुह भने ओली समूहसंग मिलेर जानुपर्ने बाध्यात्मक परिस्थितिमा ओली समुहसंग सहकार्य गरिरहेको छ।  तर ओली समूह भिम रावल समुहलाई दुई-तिहाइको बहुमतको सरकार रहेको डबल नेकपाको सरकारलाई सत्ताच्युत गर्न विभिन्न  षडयन्त्र गरेको ठान्दछ।  ओली समुह रावल समुहलाई पेलेरै जाने सोचाइमा रहेको ततकालिन अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका अभिव्यक्तिहरुले प्रस्ट हुन्छ।

पार्टीभित्र यसै पेलिने, उसै पेलिने मानसिकता ठानेका रावल समुहमा पनि बिभाजन आएको अवस्था छ।  रावल समुहका अधिकांश नेताहरु ओलीले प्रस्ताब गरेको प्यानलमा उम्मेदवार छन्। ऊ बेलादेखि नै अध्यक्ष ओलीको चर्को आलोचकका रुपमा रहेका तात्कालिन उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल अन्तिम समयमा आएर ओलीसंग नै भिड्ने परिस्थिततिमा पुगेका छन्।  त्यही भएर रावलले ओलीबिरुद्ध अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन्।  अर्का मेटा घनश्याम भुसालले ओली समुहबाट उम्मेदवार रहेक उपाध्यक्ष पदका उम्मेदवारहरुबिरुद्ध उम्मेद्वारी दर्ता गराएका छन्।  अन्तिम समयमा आएर ओलीसंग असन्तुष्ट रहेका तात्कालिन सचिव भिम आचार्य र इमान्दार नेता टंक कार्कीले ओली समुहका उम्मेदवार बिरुद्ध उम्मेदवारी दर्ता गराएका छन्।

शुरुमा माधब नेपालको नेकपा एकीकृत समाजवादीसंग निकट जस्तो देखिएका नेता भिम आचार्य मुख्यमन्त्री पाउने आशमा नेकपा एमालेमै फर्किएका थिए।  तर पार्टीकै असहयोग र सशक्त बिपक्षी गठबन्धनकाकारण उनले छोटो समयमा नै मुख्यमन्त्री पदबाट आचार्यले राजिनामा दिएका थिए। यति बेला कोरोना संक्रमण भएर आइशोलेशनमा बसिरहेका आचार्य ओलीले प्रस्ताब गरेको सूचीमा नपरेपछि उनले आफै सचिव पदमा उम्मेदवारी दिएका छन्।

पार्टीभित्र इमान्दार नेताको परिचय बनाएका नेता टंक कार्कीले पनि अन्तिम समयमा आएर ओली समुहका उम्मेदवारबिरुद्ध सचिब पदमा उम्मेदवारी दर्ता गराएका छन्।  कार्की लामो समयदेखि चीनका लागि नेपाली राजदुत बनेको अनुभव रहेको छ।

एमाले भित्रको रावल समुहको सिमित नेता बिशेष गरी हाल उम्मेद्वारी दिएका नेताहरुसंग नेता केपी शर्म ओली असन्तुष्ट रहेको परिस्थितिमा ओली समुहको सहयोग आफुहरुलाई रहने आंकलन गरेको एमालेभित्रका पुर्व माओवादी नेताहरु आफुहरुले सहजै चुनाब जित्ने विश्वासमा छन्।  त्यसो त बिगतमा भएको राष्ट्रिय सभा चुनाबमा एमालेका तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’लाई एमालेकै बागी उम्मेदवार खिमलाल देबकोटाले पराजित गरेका थिए।  देबकोटा एमाले  पृष्ठभूमिका नेता थिए।  कतै फेरी दोश्रो राष्ट्रिय सभा चुनाब प्रबृत्ति दोहोरिने त हैन ? एमालेभित्रका पुर्व माओवादी नेताहरु झास्किरहेका छन्।

एमालेभित्र बिद्रोही समुहको चरित्र बनाएको भनिएको भिम रावल समुह फेरी पनि त्यस्तै घटना दोहोरिने विश्वासमा आफ्नो बिजयको सुनिस्चितता देखिरहेको छ।  त्यसमा पनि सचिब पदमा उम्मेद्वारी दिएका भिम आचार्य र टंक कार्की हालको भिम रावल समुहमा नरहेको बताइञ्छ।  ओली समुहका योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पदमा अर्याल सचिब पदमा उम्मेदवार छन् भने ओली समूहमै पुर्व माओवादीका तर्फबाट लेखराज भट्ट र टोपबहादुर रायमाझीले सचिव पदमा उम्मेद्वारी दिएका छन्।

ओली समुहका रायमाझी र भट्टलाई भोट नदिई महाधिबेशन प्रतिनिधिले पुरानो एमाले नेता भएको हैसियतले भिम आचार्य र टंक कार्कीलाई भोट दिएर बिजयी गराउने हुन् कि भनेर राजनीतिक वृत्तमा शंका गरिएको छ।  त्यति मात्र हैंन , पार्टीको उपाध्यक्ष पदमा ओली समुहको तर्फबाट उम्मेदवार रहेका पुर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’लाई भोट नदिई महाधिबेशन प्रतिनिधिहरुले पुर्व एमाले नेताको हैसियतमा घनश्याम भुषाललाइ भोट दिएर उपध्यक्ष पदमा बिजयी गराउने त हैनन ? सर्वत्र आशंका गरिएको छ। त्यसमा पनि एमालेभित्र रहेका पुर्व माओवादी नेताहरुका बिरुद्ध मात्र बिद्रोही एमाले नेताहरुले उम्मेदवारी दिइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

त्यसो त दशौँ महाधिबेशनलाई नेकपा एमालेभित्र रहेका पुर्व माओवादी नेताहरुको राजनीतिक भविष्यका रुपमा हेरिएको छ।  यस महाधिबेशनमा पुर्व माओवादीका नेताहरुले बिजय हासिल गरे भने  एमालेभित उनीहरुको उज्ज्वल भबिश्य रहने धेरैको आंकलन छ।  यदि उनीहरुले यस महाधिबेशनमा पराजयको मार खेप्नुपर्यो भने उनीहरुको राजनीतिक भबिष्य अन्धकार जस्तै हुने अड्कल गरिएको छ।  त्यस्तो अवस्थामा उनीहरुले कि त गम्भीर अपमान सहेर भए पनि पार्टीभित्र अन्तरसंघर्ष गरिरहन सक्नुपर्छ।  अन्यथा अर्को पार्टी खोलेर अगाडी बढ्ने वा अर्को पार्टीमा समाहित हुनुपर्ने एमाले भित्रका पुर्व माओवादी नेताहरुको बाध्यता रहने बताइन्छ। नेकपा एमालेभित्रको पुर्व माओवादीका मात्र हैन बिद्रोही एमाले नेता-कार्यकर्ताको हैसियत पनि त्यस्तै हुने धेरैको अनुमान छ।

नेकपा एमालेले चितवनको सौराहामा दशौँ महाधिबेशन सकेर घर फर्किदा यस्तै विसम परिस्थति र पार्टीभित्रको अन्तरसंघर्ष चर्किएर पार्टीबाट कुनै एक समुहले बिद्रोह गर्नसक्ने सम्भावनालाई नकार्न सकिन्न।

प्रतिक्रिया