सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेका छन् ।उनले औँठी र फूलमाला साटासाट गरेर सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेका हुन् ।
पछिल्ला केही महिनायता उनले मङ्सिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए । मुकुन्देले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे पनि बिहेको मितिबारे सार्वजनिक गरेका छैनन् ।
कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका उनी अचेल सामाजिक सञ्जालमा सक्रिय र परिचित रहेका छन् । आम मानिसभन्दा आफू फरक व्यक्ति रहेको बताउने मुकुन्देले समृद्ध नेपाल बनाउने परिकल्पनाहरू सार्वजनिक गर्दै आएका छन् । उनले नेपालको पहाडमा रेल चलाउने, तराईमा हेलिकोप्टरबाट मल बिउ छर्ने समृद्ध नेपाल मुकुन्दल्याण्ड बनाउने बिचार प्रकट गर्दै आएका छन् ।