अभिनेत्री नम्रता श्रेष्ठ र प्रेमी दावा स्टिभन शेर्पाबीचको चार वर्षदेखिको रिलेसनसिप टुङ्गिएको छ । उनीहरु दुबैले सहमतिमै अलग भएर अघि बढ्ने निधो गरेका छन् ।
उनीहरुको ब्रेकअप केही महिना पहिले नै भइसकेको नम्रता निकट स्रोतले जानकारी दिएको छ । ‘जहिलेसम्म हामी एकअर्कामा कम्फर्टेबल थियौं, हामी सँगै थियौं’ नम्रतालाई उधृत गर्दैै स्रोतले भन्यो, ‘कम्फर्टेबल नभएपछि हामी अलग भएका छौं ।’
पर्यटन व्यवसायी समेत रहेका शेर्पा र नम्रता पहिलो पटक एक फिल्मको प्रिमियर समारोहका बेला कुमारी हलमा सँगै देखिएका थिए । त्यसपछि नै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिक रुपमा प्रस्तुत गरिरहेका थिए । त्यसयता उनीहरु घुमघाम गर्न न्यूजिल्याण्ड र सगरमाथा आधार शिविरसम्म पुगे । चाँडै बिहे गर्ने उनीहरुको योजना पनि थियो ।
तर, आफूहरु सम्बन्धमा नरहेको कुरा स्वयम् नम्रताले निकट साथीहरुलाई बताउन थालेकी छिन् । यसअघि सामाजिक सञ्जालमा समेत दावा र नम्रताले घुमघाम र सँगै भएका तस्बिर पनि पोस्ट गर्दै आएका थिए । तर, यो गर्न पनि छाडेपछि उनीहरुको सम्बन्धलाई लिएर अड्कलबाजी भइरहेको थियो ।