बाबुको हत्या गरेर भागेका एक व्यक्ति २० वर्षपछि फर्किएर घरमा नै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। लमजुङजिल्लाको राइनास नगरपालिका ४ का ४१ वर्षीय चन्द्रप्रसाद पराजुलीलाई २० वर्ष अघि आफ्नै बाबुको हत्या गरेको आरोपमा घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीका अनुसार, अभियुक्त चन्द्रप्रसाद पराजुलीले २०५८ मंसिर १ गते आफ्नै बाबु खगेश्वर पराजुलीलाई बञ्चरो प्रहार गरी गोवर ग्यासको सेफ्टी ट्याङ्कीम फालेर हत्या गरेपछि भागेका थिए। बाबुको हत्या पश्चात भागेका चन्द्रप्रसाद २० वर्षपछी आफ्नै घरमा रहेको जानकारी पाउनासाथ खटिएको प्रहरीले गएको कार्तिक २२ गते पक्राउ गरिएको प्रहरीको दाबी छ।
उनलाई पक्राउ गरी अनुसन्धान पूरा गरेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय लमजुङबाट अभियोग पत्रसाथ जिल्ला अदालत लमजुङमा पेस गरिएको डीएसपी कार्कीले बताए ।
अदालत पेस गरिएका उनलाई शुक्रबार नै पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।