विगत दुई वर्षदेखि रोकिएका कामदार कोरिया रोजगारीमा जान पाउने भएका छन्। वैदेशिक रोजगार विभागका अनुसार ४८ जना कमिटेड कामदारलाई बुधवार पठाउन लागिएको छ। कोरियाले पहिलोपटक ‘कमिटेड’ कामदार लान लागेको हो। (कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएका) कामदारलाई पठाउन लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कमल ज्ञवालीले बताए।
ज्ञवालीका अनुसार कोरियाको मानव संशाधन सेवाबाट प्राप्त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्त भएकाहरू जान पाउने भएका हुन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि कोरिया रोजगारी अनिश्चित जस्तै बनेको थियो। कोरोेना फैलिएसँगै कोरिया सरकारले खोप, क्वारेन्टाइन लगायतका बन्देज लगाउँदै आएको थियो।
लामो समयसम्म जान नपाएकाले फारमको समयावधि सकिएको छ। समय सकिए पनि पुनः फारम भरेर रोकिएका कामदारलाई दोस्रो उडानमा पठाइने ज्ञवालीले बताए। ‘दोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी भएको छ’, उनले भने, ‘मंसिर दोस्रो सातासम्ममा सबै कामदार पठाउने तयारी गरेका छौ।’
उनका अनुसार पहिलो चरणमा कमिटेड २५ सय कामदार पठाउने र त्यसपश्चात मात्र भाषा परीक्षा पास गरेकालाई पठाउन पहल थालिने विभागले जनाएको छ। भाषा परीक्षा पास गरेका कुल सात हजार परीक्षार्थी छन्। सबै गरेर कुल १० हजार जना कोरिया जाने पर्खाइमा रहेका छन्।