बागलुङ जिल्ला अधिकारीचौर गाविस-५ को चामिव्दार स्थित भुजीखोलामा मृत भेटिएका बुँगादोभान गाविस ७ का जीप चालक भीमबहादुर विकको घटनामा संलग्न रहेको आरोप लागेका अभियुक्तहरु अदालतको आदेश वमोजिम वागलुङ जिल्ला कारागार चलान भएका छन् । सो घटना सम्वन्धमा प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तहरुमाथि अनुसन्धान गरेपश्चात् जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेस गर्दा सो अदालतले अभियुक्तहरुलाई पुर्पक्षमा राख्ने आदेश भएकाकारण अभियुक्तहरु वागलुङ कारागार चलान भएका हुन् ।
जिल्ला अदालतको आदेश अनुसार अधिकारीचौर गाविस ५ का ५८ बर्षिय भान सिँह बुढा, २२ बर्षिय बिष्णु बिक, १८ बर्षिय दिपेन्द्र बुढा, २६ बर्षिय पानस बुढा, २४ बर्षिय हिमाल बुढा र अधिकारीचौर गाविस ५ मा डेरागरी बस्ने वर्ष ४० की कर्मला बुढा (बोवाङ गाविस १ का धनसिँह बुढाको छोरी) पुर्पक्षका लागि कारागार पठाईएको प्रनानि दामोदर भट्टराईले जानकारी दिए । अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका ११ वर्षिय बालक प्रविण बुढालाई भने अदालतले साधारण तारीखमा छोडेको छ ।
गत फागुन ६ गते विहान निज विकको शव चामिव्दार भुजीखोला किनारमा फेला परेको थियो । स्थानीयका अनुसार मृतक विक र उनका केहि साथीहरु मिलेर फागुन ५ गते राति करेण्ट लगाएर माछा मार्न खोलामा गएको मौकामा निजलाई करेण्ट लागेर मृत्यु भएको थियो ।फागुन ५ गते रिजर्भमा जीप लगेर अधिकारीचौर चामीव्दार पुगेका मृतक विक अन्य साथीहरुसंग स्थानीय विष्णु विकको पसलमा बसेर माछा मार्ने सल्लाह गरी राति भुजीखोलामा गएका थिए । जीपको बेट्रीले माछा नमरेपछी उनिहरुले सोही ठाउमा रहेको खानीखोला सानो जलविद्युत परियोजनाका कर्मचारी भानसिँह बुढाको सहयोग लिएर सिधै विद्युतको मेन लाईनमा तार जोडी खोलामा माछा मार्ने क्रममा करेण्ट लागेर जीप चालक विकको मृत्यु भएको अन्य साथीहरुले बताएका थिए ।
मृतक विकको हत्या भएको भन्दै अपराधीको खोजी गर्न पीडितहरुले ईप्रका बुर्तिवाङमा उजुरी दिएका थिए । फागुन ७ गते पीडित पक्षको आव्हानमा बुर्तिवाङ बजार बन्द गरिएको थियो भने बुर्तिवाङ बजारबाट लामो र छोटो दुरीमा चल्ने सवारी साधनहरु चल्न दिईएन ।