कास्कीको दक्षिण–पूर्वस्थित पोखरा महानगरपालिका– ३२ को दक्षिण भाग, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ र २ तथा रुपा गाउँपालिका– ५ को पश्चिम भागको फुस्रे, ताल र खुदी खोलाको नदी तट र जलाधार क्षेत्रबाट नदीजन्य सामग्री उत्खनन गर्ने प्रयास भइरहेको भन्दै यहाँका स्थानीयवासीले विरोध गरेका छन्।
यस वर्षदेखि ताल र खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन् तथा बिक्री वितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठेक्काको कार्य अघि बढाउन थालिएको भन्दै त्यसको जनस्तरबाट विरोध भएको हो।
विगतदेखि नै उक्त जलाधारबाट प्रभावित पोखरा–३२ का ढोडबेँसी, मालेपाटन, मालमूल, तल्लो गगनगौँडा गाउँ, रुपा गाउँपालिकाको देउराली फेदी, सहेला गाउँ तथा शुक्ला गण्डकीको सेराबेँसी, एक्लेखेत, कोत्रे गाउँ भूक्षय तथा खोलाको कटानलाई नियन्त्रण गर्न प्रयास गर्दै आएको भूक्षय जलाधार तथा वातावरण संरक्षण समितिका अध्यक्ष शिवबहादुर थापाले जानकारी दिए।
उनले नदीजन्य सामग्री उत्खनन नगर्न औपचारिक रुपमा नै सम्बन्धित निकायमा पत्राचारसहित ध्यानाकर्षण गराएको बताए।
‘यसै वर्षदेखि ताल, खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन र बिक्री वितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठेक्कापट्टाका काम अघि बढाउन खोजिएको भन्ने कुराले हामीलाई गम्भीर बनाएको छ’, उनले भने, ‘नदीजन्य पदार्थ उत्खनन गर्दा जलाधार क्षेत्र छेउछाउका बस्ती अति जोखिममा परी बाढी–पहिरोमा बग्ने निश्चित प्रायः छ ।’
समितिले यस सम्बन्धमा गण्डकी प्रदेश प्रमुखको कार्यालयसहित कास्की र तनहुँका जिल्ला प्रशासन कार्यालय, भूक्षय तथा जलाधार कार्यालय, सम्बन्धित नगरपालिका, प्रहरी कार्यालय आदिमा ध्यानाकर्षणसहित पत्राचार गरिसकेको समितिका सचिव विन्दुराज तिवारीले बताए।
यस जलाधार क्षेत्रकै संरक्षणका लागि २०६९ सालमा समिति गठन गरी त्यसयता जलाधार नियन्त्रण एवं संरक्षणका गतिविधि अघि बढाइएको समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए।
जलाधार क्षेत्रको नदीजन्य पदार्थ उत्खनन गर्दा चाँडै नै यस क्षेत्रका बस्ती सङ्कटमा पर्ने भएका कारण यसतर्फ सरोकारवाला निकायको तत्काल ध्यान पुग्नु जरुरी रहेको उनको भनाइ छ।