लगातार झरीसँगै खसेको पहिरोले बागलुङ सदरमुकाम जोड्ने सडक अवरुद्ध भएका छन् । सदरमुकाम आउजाउ ठप्प भएपछि यात्रीले सास्ती खेपेका छन् । पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । पटक–पटक पहिरो थपिएपछि सडक खुलाउनै नसकिने गरी खोल्सो बनेको छ ।
करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ। करिडोरमा सामान्य मर्मत गर्दै जोखिम मोलेर जीप वारपार गराइँदै आइएको छ । कुश्मीसेरा जाने सडक भने बनाउने सुरसार छैन । सामान्य मर्मत पनि नभएपछि २१ किलोमिटर लामो कालोपत्र सडकमा सवारी ठप्प छ । ठप्प भएपछि जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको विभिन्न वडा का यात्रीले सास्ती खेप्नुपरेको गुनासो गरे । करिडोरमा मात्रै दर्जनौं पहिरा छन् ।
यता फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए । करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन्। वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ। वैकल्पिक सडकसमेत पहिराका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
दक्षिण बागलुङका अधिकांस मानिस सदरमुकाम पर्वतको फलेवास ,कुश्माहुदै बाग्लुङ आउन बाध्य भएका छन् । दक्षिण जैमिनी, छिस्ती , जैदी ,अर्जेवा ,विनामारे लगाएतका ठाउबाट यात्रा गर्ने यात्रुहरु मारमा पर्ने गरेका छन् । “छिस्ती ,जैदी हुदै बाग्लुङ सदरमुकाम जादा जोखिम मोलेर यात्रा गर्नुपर्छ,बलेवा पुगेपछि उस्तै सास्ती ” एक स्थानीयले गुनासो पोखे ।