मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही देशभर हल्कादेखि भारि वर्षा भइरहेको छ ।
रातभरिको झरीले विभिन्न नदी र खोलामा बाढी आएको छ । रौतहटमा वाग्मती नदीले खतराको तह पार गरेको छ ।
चितवन र नवलपरासीमा नारायणी नदी, रुपन्देहीमा तिनाउ, कपिलवस्तुमा बाणगङ्गा, सिन्धुलीमा कोशी र वाग्मती नदीमा पनि पानीको सतह बढ्ने गरी ठूलो पानी परिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध छ,’
नारायणी, कोशी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । मौसमविद्का अनुसार अबको केही दिन देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना छ।
शनिबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।