कालिगण्डकी जोगाउन ‘नदी सप्तक’ कविता आन्दोलन ( आह्वान सहित )

कालिगण्डकी जोगाउन ‘नदी सप्तक’ कविता आन्दोलन ( आह्वान सहित )


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ भाद्र २०७८
  • 5.7K
    Shares

कालिगण्डकी दोहनको विषयमा आमनागरिकको क्षेत्रबाट चासो र चिन्ता व्यक्त गरिएको छ । तर पछिल्लो एक दशकमा नदीमाथिको दोहन रोकिने भन्दा झन् बढ्दै गएको स्पष्ट देखिन्छ । यो विषयमा संसद देखि अदालतसम्म प्रश्न उठे पनि त्यसले पनि कालिगण्डकी नदिमाथीको दोहन थामिएको छैन ।

कालिगण्डकी माथिको चरम दोहन बढ्दै जाँदा पछिल्लो दिनमा भने यसविरुद्धको अभियान सामाजिक सञ्जालमा जबरजस्त बढेको छ । सामाजिक सञ्जालमा “कालीगण्डकी बचाऔं अभियान” निकै तीब्र गतिमा फैलिएको छ ।

कालीगण्डकी बचाऔं अभियान का अभियानकर्ताहरुले छुट्टै बिरोधको सैली अपनाएका छन् । उनिहरुले कबिता मार्फत अवैध दोहन तथा नदी सभ्यता जोगाउन यो सैली अपनाएका हुन् । नदी संरक्षणमा बल पुग्ने भावका कविता पठाउनका लागि देशभरमा रहेका स्रष्टाहरूलाई आह्वान गरेको छ । काली नदीको अवैध दोहन भएको तथा नदी सभ्यता नै नामेट पार्न खोजिएको विरोधमा अहिले देशैभरिका कविहरुले कविता लेखेका छन् ।

कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदीप्त गिरीका अनुसार पाँच दर्जन बढी कविहरूले यस अभियानको लागि कविता पठाइसकेका छन् । ‘कविहरूले उत्साहपूर्वक कालीगण्डकी बचाउन कविता पठाउनुभएको छ,’ गिरीले भने, ‘अझै धेरैभन्दा धेरै स्रष्टाहरूलाई संरक्षण अभियानमा एक्येबद्धतासहित कविता पठाउन अनुरोध गरेका छौं ।’

गिरीका अनुसार प्राप्त कविताहरूलाई संकलन गरेर ‘नदी सप्तक’ नामक कवितासंग्रह नै तयार पार्ने लक्ष्य राखिएको छ ।

‘कालीगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलममार्फत शासकलाई झक्झकाउनुपर्ने बेला आएको छ । प्राप्त कविता हाललाई डिजिटल कन्टेन(पोस्टर कविता)का रुपमा फेसबुकमा पोस्ट गरिने छ ।’ अभियानले आफ्नो अपिलपत्रमा भनेको छ ।

स्वतः स्फुर्त रुपमा सामाजिक सञ्जालमा सुरु गरेको यो अभियान अहिले व्यापक भन्दै गएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ह्यास ट्याग कालिगण्डकी बचाउ अभियानलाई निकै तिव्रता दिएका हुन् ।

कविता पठाउने ठेगाना savekaligandakiriver@gmail.com रहेको छ ।

“कालीगण्डकी बचाऔं अभियान” ले जारि गरेको विज्ञप्ति

कालीगण्डकी नदी हाम्रो जीवन हो, प्रकृति हो, सम्पदा हो र अस्था हो । मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहूँ आदि हुँदै बग्ने कालीगण्डकी नदी नेपालको पुराना सभ्यता मध्येको एक सभ्यता बोकेको नदी हो । कालीगण्डकी हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान, भाषा, मूल्य, चलन, एकता, जिविका, सांस्कृतिक विस्तार, मनोरन्जन, सुखदुःखको साझेदार नदी हो । दुर्लभ शालिग्राम पाइने विश्वकै एकमात्र यो नदीसँग हिन्दु धर्मालम्बीकालागि अत्यन्तै ठूलो सांस्कृतिक महत्व रहेको छ । यो नदी क्षेत्र नित्य स्नानदेखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राद्घ गर्न अत्यन्तै पवित्र मानिन्छ ।

किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौ पवित्र धार्मिक स्थल छन्, जहाँको एक पटक दर्शन गर्न वा पूजापाठ गर्न हजारौं धर्वालम्बी लालयित छन् । तिब्बतको सीमादेखि बग्दै आउने कालीगण्डकी केवल समुन्द्र छुनको लागि बग्दैन। आफू बग्दै गर्दा तल्लो तटिय क्षेत्रको पर्यावरणलाई सन्तुलित गर्ने, मध्यतराईलाई सुख्खा हुनबाट बचाउने, कालिगण्डकीमै आश्रय लिएर हजारौं वर्षदेखि बाँचिरहेका तटिय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउने जिम्मेवारीसमेत बोकेर बग्दछ । केही वर्षयता पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तिब्र दोहन भइरहेको छ । सरकारले यसलाई नदेखे झैं त गरिरहेकै थियो, अब अझ नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेको छ। सरकारलाई केवल सुरुङ खन्नु छ, पानीको प्राकृतिक बाटोलाई बिथोल्नु छ, पारिस्थितिक प्रणालीलाई बिगार्नु छ ।

कुनै वैज्ञानिक अध्ययन/अनुसन्धान बिना नै सुरु गरिएको प्रलयकारी कालीगण्डकी डाइभर्सन योजना र विगत केही दशकदेखि कालीगण्डकीको आँत र गर्वमा नै असर गर्ने गरी गरिएको गैरकानुनी दोहन यसैको परिणाम हो । कालिगण्डकी डाइभर्सनद्वारा राखिएको सिचाइ एवम् विद्युत उत्पादनको लक्ष्य स्थानीय पानीको श्रोतबाट समेत पूरा गर्न सकिने सुझाव विज्ञहरुले दिइरहँदा सरकारले डाइभर्सनकै ढिपी कस्नु कालिगण्डकीमाथिको कुदृष्टि बाहेक केही होइन । यो परियोजनाले कालीगण्डकीमा निर्भर जीवन, परियोजनास्थल भन्दा तल्लो क्षेत्रमा जमिनमुनिको पानीको भण्डारण रित्तिने, जैविक विविधतामा संकट ल्याउने र धार्मिक स्थलहरुलाई संकटमा पार्ने काम गर्छ।

कालिगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलम मार्फत शाशकलाई झक्झकाउनु पर्ने बेला आएको छ । यसकारण ‘कालिगण्डकी संरक्षण अभियान’मा यहाँले कालीगण्डकीले ओगटेका विविध विषय शिर्षकमा आफ्नो छोटो कविता (१५ देखि २० लाइनको) मार्फत एक्यवद्धता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । प्राप्त कविता हाललाई डिजिटल कन्टेन(पोस्टर कविता)का रुपमा फेसबुकमा पोस्ट गरिने छ ।

अनुरोधक- कालीगण्डकी बचाऔँ अभियान कविता हप्ता दिनभित्र निम्न ठेगानामा पठाउनु होला : savekaligandakiriver@gmail.com (पुनश्च: हामीलाई प्राप्त कविताहरू मध्ये उत्कृष्ट कविता छनोट गरि पछि ‘नदी सप्तक’ कवितासङ्ग्रह प्रकाशन गरिनेछ ।)

प्रतिक्रिया
सम्बन्धित समाचार