देउवाको ज्योतिषीय राजयोगमा प्रगतिशील चिन्तन

देउवाको ज्योतिषीय राजयोगमा प्रगतिशील चिन्तन

तरूण तपसी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ असार २०७८
  • 9.8K
    Shares

तरुण तपसी

चित्र फेरिए चरित्र फेरिएनन्
दौरा फेरिए दृष्टि फेरिएनन्
कौवालाई बेल पाक्यो हर्ष न बिस्मात्
स्रष्टा फेरिए सृष्टि फेरिएनन् ।

भूपू प्रधानमन्त्री केपी ओलीले तीन वर्ष अगाडि अब जीवनमा कहिल्यै काङ्ग्रेसको सरकार बन्दैन भनिरहँदा हजारौं कार्यकर्ताले रसिक मानीमानी परर्र ताली ठोकेका थिए जुन आज लज्जाजनक तरिकाबाट झुठो साबित भएको छ । राजनीतिक नेताले जहिल्यै पनि सुदूर हेरेर संयमित भएर बोल्नुपर्छ तर हाम्रोमा यो गुण कुनै नेतामा भएजस्तो लाग्दैन । वर्तमानकै प्रम शेरबहादुर देउवाले पनि एकताका कम्युनिष्ट शासनमा रूनसमेत पाइँदैन भन्थे।  तर आज ठ्याक्कै उल्टो लुट्न समेत पाइने भएको छ ।

अहिले आजको मितिमा माधवकुमार नेपाल र ओली पानी बाराबार गरेर देश नै जाम पारिराखेका छन् तर यिनै केही समयपछि चाटाचाट गरे भने आज रेलिङ् भाँच्नेहरू समेत लाज मान्नेवाला छैनन् । यी उदाहरणबाट के भन्न खोजिएको हो भने हाम्रा नेतामा संयम, अनुशासन, चिन्तन केही पनि छैन त्यही भएर आज एउटा ज्योतिषी सुपरहिट हुन पुगेका छन् । यो देश कसले चलाएको छ भनेर सोधेमा भन्न पर्ने हुन्छ कि ज्योतिषी र विदेशी मिलेर नै यो देश चलाएका छन् । के साँच्चै यो यथार्थ हो ?

ज्योतिष विद्यालाई यहाँ कुनै अपमान गर्न खोजिएको होइन, त्यसको आफ्नो मूल्य र मान्यता छ, हामी सम्मान नै गर्छौं र गर्नु पनि पर्छ, तर सम्मान गरिरहँदा रहँदै वास्तविकताबाट आँखा पर लैजान पनि सकिंदैन । देउवा प्रधानमन्त्री भइरहँदा भन्नुपर्ने हुन्छ कि यो सरासर तीन करोड नेपालीको हिंजडापन हो किनकि देउवामा कुन यस्तो क्षमता र योगदान छ जसले गर्दा उनलाई पटक-पटक निर्विकल्प प्रधानमन्त्री बनाउनुपर्ने देखिन्छ ? बडो मुश्किलले एकाध योगदान भेटिएलान्त्यो।  पनि हनुमान भएर खोजेमा नत्र साउदी, मलेशिया, भुटान आदि देशलाई केही दशकभित्रै धनी बनाउने नेता जस्तै हाम्रा कुन नेता छन् र ? देउवाको स्थान यीमध्ये कहाँनेर छ र ? बुद्धि, बोली, क्षमता, दृष्टि कुन कुरामा उनी आदर्शवान हुन सक्छन् ? वास्तवमा यो हामी नेपालीको लाचारीपन बाहेक केही होइन । क्षमतावान र योग्यतमको छनोट गर्ने आधार हाम्रोमा कुनै क्षेत्रमा पनि हुन सकेन यही नै हाम्रो दुर्नियति पनि हो ।

वास्तवमा राजनीति वा जीवन वा देश नदी जस्तै निरन्तर प्रवाहमान हुनुपर्छ, परिवर्तनशील हुनुपर्छ । नदीलाई जब बाँध बाँधेर पानी एकै ठाउँमा रोकेर तलाउ जस्तै बनाइन्छ तब त्यो पानी सड्न थाल्छ तर जब त्यही पानी छङछङ प्रवाहमान हुन्छ तब सयौं ढल मिसाउँदा पनि स्वच्छ मानिन्छ वा हुन्छ । हाम्रो राजनीति भने जहिले पनि गाउँदेखि लिएर केन्द्रसम्म जाममा फँस्ने गर्छ । नेपालीको मानसिकता नै जाम हुने टाइपको छ ।

कुनै कुरा समात्यो कि बस त्यहीं जाम । हिजोका दिनमा गिरिजाको ओरिपरि जाम, आज फेरि केपी ओली, देउवा, माधवकुमार, झलनाथ खनाल, कमल थापा, पशुपति शमशेर, महन्थ ठाकुर, उपेन्द्र यादव, विजय गच्छदार, बाबुराम भट्टराई……… यस्तै-यस्तै खोत्तर परिसकेकाहरूको मानसिकताका चंगुलमा देश फँसिरहन्छ । इनेगिनेचुने पचास जनाको खल्तीमा गएर देशको राजनीति जाम हुने गर्छ, कि विदेशी, कि यिनै सडिसकेका मानसिकता अनि कसरी देश उँभो लाग्छ ? हजुरबाको पालादेखि नातीको पालासम्म उही नेता छ, छ । गगन थापा जस्ता तथाकथित युवानेताको मानसिकता पनि अब उही पारामा अगाडि बढ्ने हो ।

अफ्रिकालाई मुक्त बनाउने नेल्सन मण्डेला चाहेका भए जीवनभर राष्ट्रपति हुन सक्थे तर के भए ? बेलायतका प्रधानमन्त्रीहरू जुन हाम्रा नेताभन्दा कैंयौं गुना कान्छा हुन् तर के आज तिनीहरू राजनीतिमा कतै सुनिन्छन् ? बाराक ओबामा, बिल क्लिन्टन, जर्ज डब्ल्यु बुश, डोनाल्ड ट्रम्प कोही पनि दोहोरिन्नन् । न त यी भूपूहरूले राज्यको शोषण नै पनि गर्छन् जसरी आज सक्षम लखपति झलनाथ खनालले गरिरहेका छन् । विदेशमा केही कम्युनिष्ट मुलुकबाहेक जहाँ हेरे पनि नेता दोहोरिन्न, कता हराउँछन्, हराउँछन्, सामान्य जीवन यापन गरेर बस्छन्, गुमनाम जस्तै । त्यही भारतमा पनि विगतका केही अपवादबाहेक दोहोरिने सम्भावना कम हुन्छ ।

बिहारी शैलीले गर्दा कताकती भारतामा भने नेपालकै जस्तो पनि नहुने गरेको होइन तर पनि त्यहाँ योग्यतमको छनोट भने हाम्रोमा भन्दा राम्रो हुने गर्छ । युरोप-अमेरिकाका ती सबै नेताका कुण्डलीमा राजयोग परेको थिएन होला ? हाम्रा ज्योतिषीले तिनको कुण्डली हेर्ने हो भने अवश्यै पनि धेरैका कुण्डलीमा राजयोग परेको पाउन सक्नेछन् । जतिसुकै राजयोग परे पनि त्यहाँका नेता दोहोरिन्नन्, उही एउटै नेताको बूढो मानसिकतामा देश बूढो हुन स्वीकार गर्दैन । विदेशका नेताको राजयोग २९-३० वर्षको उमेरतिर पर्छ अनि ४५ नलाग्दै कहिल्यै त्यो राजयोग दोहोरिएर आउँदैन अत: ज्योतिषीको भविष्यवाणीका आधारमा, कुनै चर्चका होलीवाइनका आधारमा देश चलाउने मानसिकता नत्यागेसम्म, शुद्ध भौतिकतावादी दृष्टि नअपनाएसम्म यो देशको कल्याण हुनेवाला छैन ।

हाम्रा नेतामा दृष्टि छैन भन्ने कुरा दुई-तिहाइपछिको दुर्दशाले नै पुष्टि गरिसकेको छ । जनताको चिन्ता कति छ भन्ने कुरा त लाशमाथि पनि राजनीति गर्नुबाट नै पुष्टि हुन्छ । अनुशासन कस्तो छ भन्ने कुरा बाझाबाझ, गाली-गलौज, रेलिङ भाँचाइ आदिबाट नै पुष्टि हुन्छ । अनुशासनमा त भर्खर मात्रै शपथ समारोहमा पम्फा भुसालको र्‍याप स्टाइलको ड्रेस र जनार्दन शर्मा तरकारी किन्न गएजस्तो शैलीमा उपस्थित हुनुबाटै पनि बुझ्न सकिन्छ । कम्युनिष्ट विचारधारा संसारमा कहाँ छैन र ? चीनमैं छ, इजरायल, इराक, इरान, पाकिस्तान, अफगानिस्तान, बाङ्गलादेश सबै देशमा छन् ।

सबैजसो देशका कम्युनिष्टले भौतिकवादी विकास र अनुशासनमा मात्र कम्युनिष्ट विचारधारा लागू गर्छन् तर हाम्रोमा ठ्याक्कै यी दुई कुरामा बाहेक अरू कुरामा लागू गर्छन् । खास गरेर हाम्रोमा कम्युनिष्ट भनेको अनुशासन र विकासमा बाहेक धर्म र संस्कृतिमाथि प्रहार गर्नेलाई मात्रै कम्युनिष्ट भनेर बुझाउने चल्ती आएको छ । माओइष्ट कम्युनिष्टको जन्मथलो चीनमा समेत नभएको नास्तिकता यिनले देखाउन पर्छ । ईश्वर नमाने पनि कम्तीमा अनुशासन मानून्, ज्योतिषी नमानून् र भनून् कि यो देशमा पनि अबबाट कुनै राजयोग हुने छैन अर्थात् २ पटकभन्दा बढी कोही पनि कहीं पनि दोहोरिने छैन किनकि हामीलाई देश र समाज गतिशील बनाउनु छ, यसैलाई प्रगतिशील भन्न सकिन्छ ।

प्रतिक्रिया