चट्याङ लागेर गस्तीमा निस्किएका झापास्थित एक प्रहरी चौकीका प्रमुखको गएराती मृत्यु भएको छ।
झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लागेर गएराती मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार प्रहरी टोली लिएर साइकल गस्तीमा निस्किएका असई ठाकुर सोमबार राति १०:५५ बजेतिर चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याइएकोमा चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी गराएका थिए ।
४७ वर्षीय असई ठाकुर भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरू प्रहरीहरु सुरक्षित नै छन् ।