क्याम्पस प्रमुखसंग चर्को शुल्क घटाउनुपर्ने, लाइब्रेरीको उचित व्यवस्थापन हुनुपर्ने लगायतका मागहरु राखिरहेका पृथ्वीनारायण क्याम्पसको बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरु कुटिएका छन् ।
उनीहरुलाई ओली पक्षीय अनेरास्ववियुका विद्यार्थीहरुले कुटपिट गरेको माधव नेपाल पक्षका अनेरास्ववियुका बिद्यार्थी नेताहरुले आरोप लगाएका छन्।
ओली पक्षीय अनेरास्ववियुका विद्यार्थीहरुको कुटाइबाट पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत दुई विद्यार्थी राम अधिकारी र प्रभात लामिछाने घाइते भएका छन् । एकजनाको खुट्टा भाँचिएको र अर्कोको हात लगायतका ठाउँमा चोट लागेको छ । घाइते विद्यार्थीद्वयको गण्डकी मेडिकल कलेज, पृथ्वीचोकमा उपचार भैरहेको जनाइएको छ ।
बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुरुले आफ्ना शैक्षिक मागहरु सम्बोधन नभएपछि तालाबन्दी गर्न खोज्दा क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच छलफल चलिरहकै बेला एक्कासी बाहिरबाट हक्की ब्याट र रड बोकी आएका केही व्यक्तिहरुले विद्यार्थीमाथि जाइलागेको पीडित विद्यार्थीहरु बताउँछन् ।
माधव नेपाल पक्ष अनेरास्ववियु, कास्की जिल्ला कमिटि अध्यक्ष बज्रराज अधिकारी र पृथ्वीनारायण क्याम्पसका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले विज्ञप्ती निकालेर केपी ओली समूहले विद्यार्थी माथि हतियार प्रहार गरेको र कुटपीटमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुले शुल्कमा मा छुट, लाइब्रेरीको उचित व्यवस्थापन, अनलाइन कक्षाका विषयमा क्याम्पस प्रशासन समक्ष लगातार माग गरिरहेको सन्दर्भमा माग पूरा नभएपछि तालाबन्दी गर्ने क्रममा केपी ओली समूहका विद्यार्थीहरु र बाहिरका व्यक्तिहरु ल्याएर आक्रमण गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच, माधव पक्षका विद्यार्थीले ओली पक्ष विद्यार्थीहरु घटनामा हतियारसहित संलग्न भएको आरोप लगाइरहँदा ओली पक्षीय विद्यार्थीहरुले भने यसबारे केही बोलेको छैन ।
यसैबीच प्राप्त पछिल्लो जानकारी अनुसार, बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुले तालाबन्दी गर्न लागिरहेका बखत एक दुर्गमबाट आएका विद्यार्थीले फर्म भर्न खोज्दा अवरोध भएको थियो। ती विद्यार्थीले फर्म भर्ने मिति पनि अन्तिम भैसकेको अवस्थामा कोरोनाकाकारण बिहीबारदेखि लकडाउन हुन लागेकाले आफुले फर्म भर्न पाउनुपर्ने जिकिर गरेका थिए। आफु दुर्गमबाट आएको जिकिर गरिरहेका ती विद्यार्थीले आक्रोशमा बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुले टाँसेको बिज्ञप्ति च्यातिदिएका थिए। त्यसपछि आक्रोशित बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुले उनीमाथि कुटपिट गरेका थिए।
बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुको कुटाइ खाएका ती विद्यार्थीले बाहिरबाट अन्य सहयोगी ल्याएर आन्दोलनरत बिएससी-सिएसआइटी अध्ययनरत विद्यार्थीहरुमाथि आक्रमण गरेको प्राप्त समाचारमा जनाइएको छ।