बुटवलका व्यवसायी बसेलको शब बागलुङको ढोरपाटनमा गाडिएको अस्थामा फेला, , शंकाश्पद एक पक्राउ

बुटवलका व्यवसायी बसेलको शब बागलुङको ढोरपाटनमा गाडिएको अस्थामा फेला, , शंकाश्पद एक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ बैशाख २०७८
  • 12.1K
    Shares

janasanchar ,

एक महिनाअघि बेपत्ता रहेका बुटवलका व्यवसायी नारायण बसेलको शब बागलुङको ढोरपाटनमा गाडिएको अस्थामा फेला परेको छ ।

बुटवल–११ कालिका नगरमा सियोर जब डटकम व्यवसाय गर्दै आएका बसेलको शब बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनाम बेसीमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए  ।

देवचुली नगरपालिका ३, केवरानी नवलपरासीको स्थायी बासिन्दा रहेका ३२ वर्षीय बसेल गत चैत ४ गते साँझदेखि सम्पर्कविहीन भएका थिए । चैत ५ गते उनका दाजु भागीरथ बसेलले प्रहरीमा उजुरी दिएका थिए ।

हत्याको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलमा क्यान्टिन व्यवसाय चलाउँदै आएका मित्रलाल खनाल छन् । मुख्य आरोपी उनका दाजु गौरीशंकर खनाल भने फरार छन् । उनीहरु बाग्लुङको ढोरपाटन नगरपालिका २ रिनामका स्थायी बासिन्दा हुन् ।

आर्थिक लेनदेनका कारण बसेललाई बुटवलमा हत्या गरी शव बाग्लुङ लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ । आरोपितले प्रहरीलाई दिएको बयानअनुसार गौरीशंकरले साझेदारीमा व्यवसाय गर्ने भन्दै १२ लाख रुपैयाँ लिएका थिए । पछि कुरो नमिलेपछि बसेलले व्यवसायबाट हात झिकेका थिए ।

प्रहरीका अनुसार चैत ४ मा उक्त रकम बुझाउने बहानामा गौरीशंकरले बसेललाई बोलाएका थिए । गौरीशंकरका भाइले बुटवलमै हत्या गरेर सुटकेसमा हाली बसको छतमा राखेर शव बागलुङ पुर्‍याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ । त्यसपछि उक्त शव ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनामबेसीमा जस्तीखोलाको कुलोको मुहानमा गाडेको पनि आरोपितले बयान दिएको प्रहरीको भनाइ छ ।

शव भेटिएको हल्ला आएपछि गौरीशंकरले ढोरपाटन नगरपालिका–२ का वडाध्यक्ष युवराज महतलाई शव भेटिएको हो वा होइन भन्दै बुझ्न फोन गरेका थिए । वडाध्यक्ष महतले एक पुरुषको शव फेला परेको बताए लगत्तै उनको मोबाइल अफ रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयले बाख्रा चराउन गएका बेला कुलोको मुहान खन्ने क्रममा शंकास्पद वस्तु देखेका थिए । उनीहरुले माटो निकालिएको र शव गाडिएको जस्तो देखेपछि इलाका प्रहरी कार्यलय बुर्तिबाङमा खबर गरेका थिए ।

वैशाख १ गते बिहान प्रहरी टोली घटनास्थलमा पुगेर शव निकालेको थियो । जसमा नाम्लोसँगै प्लास्टिकले बेरेर डोरीले कसेको अवस्थामा शव फेला परेको थियो । बुधबार बसेलको शव भए/नभएको चिन्न भाइ मदन बसेल र आफन्त बागलुङ गएका थिए । उक्त शव नारायणकै भएको पुष्टि भएको दाजु नारायण बसेलले बताए । बसेलले ७ वर्ष जापान बसेर आएपछि डेढ वर्षयता व्यवसाय चलाएका थिए । मृतककी श्रीमती डेढ महिनाकी सुत्केरी छन् । बुटवलका प्रहरी नायब उपरीक्षक राठौरले अभियुक्तको खोजी कार्य तीव्र पारेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार