बुधबार साँझ ७ बजे धादिङको गल्छी गाउँपालिका-६ स्थित सडकमा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्ड अवरुद्ध पारेका छन्।
सो दुर्घटनामा गल्छी गाउँपालिका-३ का करिब ६२ वर्षीय बुद्धिबहादुर बयलकोटीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। बयलकोटीलाई ठक्कर दिने गाडीको पहिचान भएको छैन।
उक्त गाडीको पहिचान गरी कारबाही गर्न माग गर्दै स्थानीय जनताले पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्ड अवरुद्ध पारेका छन्। सो बाटोमा चल्ने सयौं सवारीसाधन बीचमै रोकिँदा सडकमा लामो जाम भएको छ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, धादिङ बेंसीबाट रुविभ्याली (बोराङ) जाँदै गरेको ग १ ज ६२७० नम्म्बरको जिप डुन्डुरे (गासिली)मा बुधबार अपराह्न दुर्घटना हुँदा रुवीभ्याली ६ माकपुर गाउँ निवासी २४ वर्षीय अनिल तामाङको मृत्यु भएको भने अन्य १३ जना घाइते भएका छन्। चालक देउबहादुर तामाङ प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।