ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा प्रहरीले स्याङ्जाबाट एक ट्याक्टरका सहचालकलाई पक्राउ गरेको छ।
प्रहरीले लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का २२ वर्षका सुनिल रानालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, अभियुक्त सहचालक रहेको स्याङ्जाको गल्याङ नगरपालिका-९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए । घाइते भएका सहकर्मी गणेश गाहालाई उद्धार गरी अस्पताल लैजानु पर्नेमा अभियुक्त राना र ट्याक्टर चालक अमित परियार मिलेर कालीगण्डकी नदीमा फालेर भागेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीले चैत ५ गते घटना भएपछि चालक अमित र सहचालक सुनिल दुवै ट्याक्टर छाडेर भागेकोमा सुनिलले पाल्पास्थित दिदीको घरमा पुगेर घटनाबारे बताएका थिए । त्यसपछि पाल्पाको प्रहरी हुँदै आफूहरुले जानकारी पाएको डीएसपी अधिकारीले बताए ।
सुनिललाई पक्राउ गरी सोधपुछ गर्दा घटना स्वीकार गरेका अधिकारीले बताए । ‘नदीमा फालेको भनिएका व्यक्तिको घरबाट पनि खोजी भएको छैन, हामीले बुझ्दा साथीकहाँ गएको होला भनेर खोजी नगरेको देखियो’ उनले भने, ‘उनको शव भेटिएको पनि छैन, हामीले गोताखोर मगाएका छौं ।’
पक्राउ परेका सुनिलमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएको छ । घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको डीएसपी अधिकारीले बताए ।