बलिउड नायक मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

बलिउड नायक मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ फाल्गुन २०७७
  • 6.5K
    Shares

बलिउड नायक मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

बलिउड़ नायक मिथुन चक्रवर्ती भारतीय जनता पार्टी(बीजेपी) मा प्रवेश गरेका छन् । लामो समय फिल्मी करियरमा राजनेताको भूमिका निर्वाह गरेर प्रशंसा बटुलेका मिथुन आइतबार कोलकातामा आयोजित र्‍यालीमा बीजेपीमा प्रवेश गरेका हुन् ।

पश्चिम बंगाल विधानसभा चुनावको पूर्वसन्ध्यामा मिथुन प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित र्‍यालीमा पार्टी प्रवेश गरे । कुनै समय प्रणव मुखर्जीलाई समर्थन गर्दै चुनावी र्‍यालीमा हिँडेका मिथुन सन् २०११ मा पश्चिम बंगालमा कम्युनिस्ट सरकार ढलेसँगै तृणमूल कंग्रेस(टीएमसी) सँग नजिकिएका थिए ।

टीएमसी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँगको निकटताका कारण उनी राज्यसभामा पनि पुग्न सफल भए । तर केही समयपछि शारदा चिटफन्ड घोटालामा नाम आएपछि मिथुन विवादमा मुछिएका थिए ।

आफ्नो कार्यकालमा उनी संसद्मा पनि निकै कम उपस्थित भए । तीनवर्षे कार्यकालमा उनी केवल ३ पटक मात्रै संसद्‍मा उपस्थित भएका थिए । चिटफन्ड घोटालामा नाम मुछिएपछि उनले सन् २०१६ मा राज्यसभा सांसदबाट राजीनामा दिएका थिए । उनले स्वास्थ्य अवस्थालाई देखाउँदै राजनीति छाडेको दाबी गरेका थिए । मिथुन शारदा कम्पनीका ब्रान्ड एम्ब्यासडर थिए । यो प्रकरणमा उनीसँग अधिकारीहरूले सोधपुछसमेत गरेका थिए ।

करिब २० वर्षयता मुम्बई र उटीमा बस्दै आएका मिथुन बीजेपीका पश्चिम बंगाल प्रभारी कैलाश विजयवर्गीयसँगको भेटपछि कोलकाताको र्‍यालीमा सहभागी भएका हुन् । शनिबार राति बनारस हुँदै मुम्बई पुगेर उनी कोलकाता आएका हुन् । विजयवर्गीयसँगको भेटघाटपछि नै मिथुन बीजेपीमा सामेल हुने आशंका गरिएको थियो । एयरपोर्टमा मिथुनले पत्रकारहरूसँग भनेका थिए, ‘राजनीतिमा जे पनि सम्भव छ । भोलिसम्म पर्खनुस् । म प्रधानमन्त्रीसँग भेट्न चाहन्छु ।’

प्रतिक्रिया