वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ ।
आठ महिनायता विस्मृति (अल्जाइमर्स) रोगले थलिएका रिष्ठ गीतकार रिमालको शनिबार बिहान निधन भएको पारिबारिक स्रोतलाई उद्दृत गर्दै समाचारस्रोतले जानकारी दिएको छ।
१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल छोरा अभिषेक, बुहारी विद्या र नाति–नातिनासँगै काठमाण्डौको चाबहिल बुलबुलेमा आफैंले बनाएको घरमा बस्दै आएका थिए। ८५ वर्षीय रिमालले कान सुन्न छाडेको ६ दशक बढी भइसकेको थियो भने पछिल्ला पाँच दशक त उनी ठ्याम्मै कान सुन्न नसक्ने बनेका थिए।
एकदर्जन कविता संग्रह र एक हजारभन्दा बढी गीतका सर्जक रिमालका अहिलेसम्म आठ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।
नारायणगोपालको स्वरमा बज्ने ‘जुन फूल मैले चाहेको थिएँ’ तथा अरुणा लामाको स्वरमा बज्ने ‘उदास मेरो जीवन कथा’ गीतका सर्जक रिमालले जीवनका ७० वर्ष गीत र कविता लेखनमै बिताए । उनले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् ।