नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको ज्यादतीको बदला लिन आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरेका छन्।
बरिष्ठ नेता पौडेलमाथि हिजो भएको भनिएको प्रहरी ज्यादतीकाबिरुद्ध नेपाल तरुण दल कास्कीले आयोजना गरेको बिरोध सभामा बोल्दै नेता शर्माले आफ्ना नेता-कार्यकर्तालाई त्यस्तो आव्हान गरेका हुन्।
उनले नेपालमा गरीबी र अभाव समस्या नरहेको उल्लेख गर्दै मुलुकका लागि कम्युनिष्टहरु समस्या भएको टिप्पणी गरे। नेपालमा राजनीति अब शुरु भएको दाबी गर्दै त्यो राजनीति अब पोखराबाट शुरु भएको घोषणा गरे।
कार्यक्रममा गत संबिधान सभाकी सदस्य रहेकी नेत्री ब्रिदादेवी आले मगरले वर्तमान दुई तिहाइको कम्युनिष्ट सरकार संविधानले दिएको अधिकार खोस्न उद्दत रहेको आरोप लगाउदै वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यता मान्न तयार नभएसम्म सरकारविरुद्ध संघर्ष गरिरहन आव्हान गरिन।
नेपाल तरुण दलका नेताहरु सुरज जंग राना र दिपक गुरुङले लोकतान्त्रिक पद्दतिका लागि लडिरहेको नेपाली कांग्रेसलाई जेलनेल देखाएर नतर्साउन चेतावनी दिंदै नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाइ गिरफ्तार गरेर थुन्ने जेल निर्माण गरेर देखाउन चुनौती दिए।
त्यस अवसरमा सहभागी कांग्रेसी कार्यकर्ताहरुले ओली नेतृत्वको सरकार र प्रधानमन्त्री ओलीबिरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरुले कम्युनिष्ट अधिनायकबाद मानिदैन, भ्रस्ताचारी सरकार राजिनामा दे लगायातका नारा लगाएका थिए।