गाउँपालिका सभाले गरेको निर्णय विपरीत अपायक ठाउँमा अस्पताल निर्माण गर्न लागिएको भन्दै पर्वतको मोदी गाउँपालिकाका बासिन्दा आन्दोलित बनेका छन्।
वर्तनेदेखी बेतिनीसम्म पोखरा-बाग्लुङ्ग राजमार्गको आसपासमा अस्पताल निर्माण गर्ने गाउँसभाको निर्णय भएकोमा जनतालाई अपायक पर्ने गरी बाजुङ्गमा लगेर अस्पताल बनाउन लागिएको भन्दै मोदिवासी आन्दोलित भएका हुन्। उनीहरुले गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले गाँजा धतुरो खाएर तथा माफियाको प्रभावमा परेर गाउँपालिकाको निर्णय विपरीत अपायक ठाउँमा अस्पताल निर्माण गर्न लागेको आरोप लगाएका छन्। उनीहरुले विरोध स्वरुप गाउँपालिकामा तालाबन्दी समेत गरिएको छ ।
यता संघीय सांसद पदम गिरीले जनताको बिरोधका बाबजुद बाजुङ्गमा अस्पताल शिलान्यास गरेका छन्। गाउँसभाले डिमुवामा बनाउने निर्णय गरेपनि गाउँपालिकाले सोमवार बाजुङमा अस्पताल निर्माण गर्न शिलन्यास गरेको छ ।

प्रतिनिधीसभाका सदस्य पदम गिरीले अस्पतालको शिलन्यास गरिरहँदा गाउँपालिकाको केन्द्र पातीचौरमा भने स्थानीयले बिरोध प्रदर्शन गरिरहेका थिए । गाउँपालिकाको कार्यालयमा स्थानीयले लगाएको ताला भने प्रहरी परिचालन गरेर आज खोलिएको छ ।
मोदी गाउँपालिकाको २०७५ जेठ २७ मा डिमुवामा आधारभूत अस्पताल बनाउने गाउँसभाको निर्णय भएको थियो । ११ रोपनी सार्वजनिक जग्गा गाउँपालिका मातहत ल्याउने गाउँसभाको निर्णय लत्ताउँदै अहिले अस्पताल अन्यत्र सारिएको स्थानीय दिपेन्द्रजंग लामिछानेले दाबी गरे ।
समाचारस्रोतका अनुसार, बाजुङमा अस्पताल बनाउन शिलन्यास भएको जग्गाको मालपोतमा स्रेस्ता समेत भेटिन्न । साविक बाजुङ गाबिस १ मा ४९ कित्ता नम्बर वरपरको १० रोपनी जग्गा अस्पताल निर्माणका लागि स्थानीयले प्रदान गरेको भनिएपनि पर्वत मालपोतमा गाउँपालिकाको नाममा उक्त जग्गा दर्ता भएको प्रमाण देखिएको छैन ।
तिलाहारवासीहरुले दिपक शर्मा लामिछानेको संयोजकत्वमा संघर्ष समिति बनाएर दबाब सिर्जना गर्न शुरु गरेका छन् ।