गुणस्तरहीन कालोपत्र गरेको भन्दै गोरखाको बाह्रकिलो-छेपेटार सडकखण्डस्थित बाह्रकिलो नजिकै कालोपत्र गरिएको सडक स्थानीय बासिन्दाले सोमबार बिहान उप्काइदिएका छन्।
निर्माण व्यवसायी उत्तम भट्टको गोरखा एप्रोप्रियटले ठेक्कामा गरेको पिच गुणस्तरहीन भएको भन्दै स्थानीय बासिन्दाले अघिल्लो दिन गरेको पिच भत्काएका हुन्। यो पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको घर जाने सडक हो।
त्यस निर्माण कम्पनीले एघार किलो-छेपेटार-भालुस्वाँरा-बारपाक सडक आयोजनासंग एक करोड ७७ लाख रूपैयाँमा कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो।
धुलो सफा गरेर मात्रै कालोपत्र गर्न पटकपटक आग्रह गरे पनि निर्माण व्यवसायीले अटेरी गरेर गुणस्तरहीन काम गरेकोले विरोधमा उत्रनु परेको उनीहरूको भनाइ छ।
सडक निर्माणको जिम्मेवारी पाएको गोरखा एप्रोप्रियटका ईञ्जिनियर अबिजित कोइरालाले कालोपत्र सेट हुन नपाउँदै स्थानीयले उप्काइदिएको बताए।
बाह्रकिलोबाट सिर्दीखोलासम्म करिब डेढ किमी सडक आफूहरूले कालोपत्र गर्ने जिम्मेवारी पाएको उनले बताए। तिहारअगाडि नै कालोपत्र सक्ने गरी काम अगाडि बढाइएको उनले जानकारी दिए।
सडक आयोजना कार्यालयले भने भत्केका ठाउँमा निर्माण व्यवसायीले पुन: कालोपत्रे गर्नुपर्ने बताएको छ।