पोखराको पृथ्वीचोक–लखनचोकमा बुधबार बिहानैदेखि ट्याक्सी चालकहरु प्रहरी–प्रशासनकाविरुद्ध नाराबाजी गर्दै उफ्रिरहेका थिए । उनीहरुले आफ्ना ट्याक्सीलाई चोकमा तेस्र्याएर बाटो अवरुद्ध गरिरहेका थिए । उनीहरु यति आक्रोशित थिए कि युद्धमा गोलाबारी चलिरहँदा पनि रोक्न नपाइने एम्बुलेन्सलाई अघि बढ्न दिईरहेका थिएनन् । एम्बुलेन्सहरु जताबाट आयो उतै फर्किएर वैकल्पिक बाटो खोज्न वाध्य थिए । सैयौंको संख्यामा परिचालित प्रहरीहरु ट्वाल्ल परेर हेर्न वाध्य थिए । कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्री ट्याक्सी चालकहरुलाई आ–आफ्नो ट्याक्सी हटाएर बाटो खोल्न अनुरोध गरिरहेका थिए । तर उनको अनुरोधलाई कसैले सुनेको थिएन ।
पोखराको पृथ्वीचोक–लखनचोकमा ठूलै घटना हुने हो कि भनेर सबै त्रसित बनिरहेका थिए । सबैले बाटो खुलाउन नमान्ने ट्याक्सी चालकहरुलाई लाठीचार्ज गराएरै भएपनि प्रहरीले बाटो खुलाउने अनुमान सबैले गरिरहेका थिए ।
यस्तो अवस्था देखेका बाटो हिंड्ने बटुवा अनि सर्वसाधारण कास्की प्रहरीको निरीहताको कटु रुपमा आलोचना गरिरहेका थिए । यस्तो आलोचना सामाजिक सञ्जालहरुमा पनि देखिन थालेको थियो । त्यस्तै करीब साढे १२ बजेतिर आफूलाई हिन्दी सिनेमाको हिरो सिंघमका रुपमा चिनाउन चाहने कास्की प्रहरी प्रमुख एसपी अशोकसिंह भीडमा पुगे । त्यतिबेलासम्म चोकमा संयौंको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु तैनाथ भैसकेका थिए । उनीहरु आवश्यक परे भीड नियन्त्रण गर्न लाठी चार्ज गर्न तमतयार भएर बसेका थिए ।
त्यही तनावका बीचमा भीड छिचोल्दै पृथ्वीचोक–लखनचोकमा पुगेका कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले आफ्ना प्रहरी जवानहरुलाई बाटोमा तेस्र्याइएका ट्याक्सीहरुलाई तत्काल उचालेर भएपनि बाटो खुलाउन निर्देशन दिए ।
उनको निर्देशनसँगै प्रहरी जवानहरुमध्ये कोहीले भटाभट बाटो छेकेर राखेका ट्याक्सीहरुलाई कोही धकेल्न थाले, कोहीले तान्न थाले । प्रहरीले ट्याक्सी हटाउन थालेपछि आक्रोशित ट्याक्सी चालकहरुले प्रतिवाद गर्ने र झडप हुनसक्ने आशंका उपस्थित सबैले गरेका थिए । तर कोही कसैले प्रतिवाद गरेनन् । केही बेर अघिसम्म चर्को आवाजमा प्रहरी प्रशासनको विरोध गर्नेहरु सबै पाखा लागेर बसे ।
प्रहरीले बाटो छेकेर राखिएका केही ट्याक्सीहरुलाई तानेर या धकेलेर बाटो खुलाए । न त्यहाँ लाठी चार्ज भयो, न प्रतिवाद । यसरी झडप हुने आशंकाबीच कास्की प्रहरीले ट्याक्सी चालकहरुलाई हटाएर सवारी साधनहरु बाटो खुलायो ।
बाटो खुलाएपछि मिटरमा चल्न नमानेको आरोपमा हिरासतमा राखिएका १८ जना ट्याक्सी चालकहरुलाई कास्की प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि गण्डकी अञ्चल यातायात कार्यालय पोखरामा पठाएको छ ।
ट्याक्सीहरु मिटरमा नचलेको गुनासो सुनिएपछि कास्की प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी ड्राइभरहरुलाई मंगलबार पोखराका विभिन्न ठाउँबाट समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो ।
उपभोक्ताहरुलाई मनपरी भाँडा असुल्ने र मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकहरुलाई नियन्त्रणमा लिइएकोमा आवश्यक कानूनी कारवाहीका लागि यातायात कार्यालय पठाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए l