फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ कार्तिक २०७४
  • 9.2K
    Shares

बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लाग्नुभएकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झर्नुभएकी हुमा शुरुमा एउटा निजी विद्यालयमा पढाउनुहुन्थ्यो । केही वर्ष पढाएर गुरुङले एउटा गैरसरकारी सस्थामा काम गर्नुभयो । त्यहाँको जागिर पनि छोडेर गुरुङले तीन वर्षअघिबाट पुष्प व्यावसाय शुरु गर्नुभएको हो ।

पुष्प व्यवसाय शुरु गर्नुभएकी गुरुङ जिल्लामै एक्लो हो । उहाँले यसलाई सम्भावनाको पेशाका रुपमा चिनाउनुभएको छ । शुरुमा फूल व्यवसाय पनि हुन्छ र ? भनेर गुरुङको खिल्ली उडाउनेहरु अहिले उहाँकै नर्सरीमा फूल किन्न पुग्ने गर्दछन् ।

“फूलको पनि खेती हुन्छ र भन्नेहरु अहिले सबैभन्दा महँगो फूल किन्न आउने गरेका छन्,” गुरुङ भन्नुहुन्छ ।

पुष्प व्यवसायबाट नैै मासिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सकेको उहाँले बताउनुभयो । फूल, बिरुवा, दुवो र बगैँचा सजावटबाट नै मनग्य आम्दानी हुने गरेको गुरुङको भनाइ छ । “एकै दिनमा डेढलाख रुपैयाँसम्मको फूल बिक्री गरेकी छु”, उहाले भन्नुभयो, “अरु बेला सामान्यतया दैनिक रु पाँच हजारदेखि रु दश हजारसम्म बिक्री हुन्छ ।”

करिब आठ रोपनी जमिनमा उहाँले मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहाँले पछिल्लो समय दुवोको समेत व्यवसाय शुरु गर्नुभएको छ । तिहार लक्षित गरेर गुरुङले तीन रोपनी जग्गामा सयपत्री जातको फूल खेती गर्नुभएको थियो ।

तर तिहार अगावै सबै फूल बिक्री भयो । सो बाहेक धूपी, अशोका, क्रिसमस ट्री, सप्लेरिया लगायतका आकर्षक बिरुवा नर्सरीमा उमार्नुभएको छ । उहाँले आफ्नो नर्सरीबाट फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पूmलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका बिरुवा बिक्री गर्दै आउनुभएको छ ।

फूलको प्रजाति, विशेषता आदिका बारेमा प्रशिक्षण लिँदै अर्को मौसमका लागि बिरुवा उमार्ने तयारीमा गुरुङ हुनुहुन्छ । फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि उहाँले झण्डै रु ५० लाख लगानी भएको बताउनुभयो । “मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ”, गुरुङले भन्नुभयो, “ग्राहकको मागलाई थेग्न निकै मुस्किल परेको छ ।”व्यावसायिक फूल खेतीका लागि जिल्लाकै एक मात्र व्यवसायी भए पनि सरकारी निकायबाट सहयोग नपाएको उहाँको गुनासो छ । सरकारी निकायमा सहयोग माग्दा निकै झन्झट बेहोर्नु परेको गुरुङले बताउनुभयो । “शुरु–शुरुमा सरकारी निकायमा सहयोग माग्न गए”, गुरुङले भन्नुभयो, “ आश्वासन पाएँ तर कहिल्यै सहयोग पाइनँ ।”

बिहानदेखि साँझसम्म आपैmँ बारीमा खट्ने गुरुङले अहिले दुईजनालाई रोजगारीसमेत दिनुभएको छ । त्यो बाहेक फूल रोप्ने बेला ज्यालामा खेताला समेत लगाउने गरेको उहाँले बताउनुभयो । नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा आफुलाई निकै खुशी लागेको गुरुङ बताउनुहुन्छ । “फूल र मालाको माग बढ्दा झन उत्साहित भएकी छु”, उहाँले भन्नुभयो, “आगामी वर्ष अझै विस्तार गर्ने योजनामा छु ।”

प्रतिक्रिया
सम्बन्धित समाचार