घुस दिएकाहरू सवारी चालक अनुमति पत्रका लागि लिएको ट्रायलमा ‘फेल’ भएर पनि ‘पास’

घुस दिएकाहरू सवारी चालक अनुमति पत्रका लागि लिएको ट्रायलमा ‘फेल’ भएर पनि ‘पास’


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ असोज २०७४
  • 7.8K
    Shares

सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्रका लागि लिएको ट्रायल परीक्षामा आर्थिक चलखेल भएको छ । घुस दिएका व्यक्ति ट्रायलमा फेल भए पनि यातायातका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा पास गरिएको छ ।

पहिलो चरणमा पास नभई दोस्रो पटक ट्रायल दिएर पास भएकामध्ये आधा व्यक्ति ट्रायलमा फेल भए । तर, घुस दिएकै भरमा फेल भएकाहरूलाई पनि पास गरियो । दर्ता नम्बर ३४७३२६९१८८१ ‘एन’ भएका कासिन्द्र साह ट्रायल परीक्षामा फेल भए पनि उनलाई पास गरियो । पहिलो पटक फेल भएका साहले दोस्रो पटक असोज ९ गते ट्रायल परीक्षा दिएका थिए ।

साह फेल भएको तर पास गरिएको भिडियो प्रमाण फेला परेको छ । भिडियोमा ट्रायलका बेला साहले भुइँमा खुट्टा राखेपछि ट्राफिकले सिट्ठी फुकेर फेल भएको संकेत गरेका छन् । त्यसपछि पनि साह रोकिएनन् । उनी अगाडि बढे । अन्तिममा बसेका ट्राफिकले झन्डा हल्लाएर पास भएको संकेत गरेको छ । उनी यातायात र ट्राफिक इन्स्पेक्टर बसेको ठाउँमा पुगेपछि उनको प्रवेशपत्रमा पास भएको संकेत उल्लेख गरेको भिडियोमा प्रस्ट देखिन्छ ।

यस्तै दर्ता नम्बर २६८४७१५ ‘एन’ रहेका लक्ष्मीकुमार यादव पनि ट्रायलमा फेल भए । तर उनलाई पनि ट्राफिक प्रहरीले झन्डा हल्लाएर पास गरे । उनको प्रवेशपत्रमा पनि यातायातका कर्मचारीले पास भएको उल्लेख गरेर कार्यालय खुलेको दिन लाइसेन्स लिन आउन भन्यो । यादवले ट्राइल दिँदा ठाउँठाउँमा खुट्टा टेक्नुका साथै रातो बत्ती बल्दा पनि मोटरसाइकल रोकेका थिएन् । उनी ट्रायल सेन्टरमा रहेको उचाइमा चढ्दा पनि तोकिएको ठाउँमा मोटरसाइकल नरोकी अगाडि बढेका थिए । तर पनि ट्राफिक प्रहरीले उनी पास भएको संकेत गरे ।

यसरी फेल भएर पनि पास भएका सयौं व्यक्ति छन् जसले बिचौलियामार्फत रकम बुझाएर ट्रायल पास गरी लाइसेन्स लिएका छन् ।

साह र यादव उदाहरण मात्र हुन् । यसरी फेल भएर पनि पास भएका सयौं व्यक्ति छन् जसले बिचौलियामार्फत रकम बुझाएर ट्रायल पास गरी लाइसेन्स लिएका छन् । पहिलो चरणमा केही व्यक्तिले मात्र रकम दिएर पास हुन्छन् । पहिलो चरणमा फेल भएपछि दोस्रो चरणमा पनि फेल हुने डरले अधिकांश व्यक्ति रकम दिएर पास हुने गरेका छन् । स्रोतका अनुसार मोटरसाइकलको लाइसेन्सको ट्रायल पास गर्न १५ देखि २५ हजार रुपैयाँसम्म घुस दिन्छन् । घुस रकम बिचौलियामार्फत यातायातका हाकिम र ट्राफिक इन्स्पेक्टरसमक्ष पुग्ने गरेको छ ।

यातायात कार्यालयअनुसार पहिलो चरणमा ७ हजार २ सय ९९ जनाले मोटरसाइकलको लाइसेन्सका लागि फाराम भरेकोमा ६ हजार ६ सय ४५ जना लिखितमा पास भए । लिखित पास भएकामध्ये ९ सय ८५ जनाले मात्र ट्रायलमा पास भएर लाइसेन्स पाएका छन् । तर दोस्रो चरणमा फेल भएकामध्ये ४ हजार ३ सय ८२ जनाले फेरि रसिद कटाए । तीमध्ये ४ सय ५७ जना ट्रायलमा अनुपस्थित भए भने ३ हजार ९ यि २५ जनाले ट्रायल दिँदा १ हजार ६ सय २९ जना उत्तीर्ण भएको रेकर्ड छ । पहिलो चरणमा थोरै पास हुनु र फेल भएकाहरू दोस्रो चरणमा ट्रायल दिँदा अधिकांश व्यक्ति पास भएको देखिन्छ । यसले पनि आर्थिक चलखेल भएको पुष्टि हुन्छ ।

कार्यालयका निमित्त प्रमुख तथा इन्जिनियर राजकुमार गुप्ताले भीडभाडका बेला फेल भएका कुनै व्यक्ति पास भएको हुनसक्ने बताए । उनले भने, ‘कहिले काहीँ ट्राफिक प्रहरीको कमजोरीका कारण फेल भएका व्यक्ति पनि पास हुन्छन् तर यस्तो गल्ती कहिले काहीँ मात्र हुन्छ ।’ उनले रकम लिएर कसैलाई पास नगरेको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार