नेपाल–चीन जोड्ने सडक, ७ वर्षमा बल्ल १८ किलोमिटर ट्याक

नेपाल–चीन जोड्ने सडक, ७ वर्षमा बल्ल १८ किलोमिटर ट्याक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ भाद्र २०७४
  • 8.1K
    Shares

सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ ।सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुगिने र समग्र दार्चुलाले काँचुली फेर्ने जिल्लावासीको सपना थियो । तर सडक निर्माणको जिम्मा पाएका कार्यालय र निर्माण व्यवसायीको लापर्बाहीका कारण सडकले गति लिन सकेको छैन । १ सय ४० किलोमिटरको यो सडक निर्माण सुरु भएको ७ वर्षमा जम्मा १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ ।

 

निर्माणाधीन दार्चुला–तिंकर सडक ।

सडक निर्माणको ८४ करोड रुपैयाँ फ्रिज

      रकम लगेको तीन वर्षसम्म पनि दिएन सेनाले विस्फोटक पदार्थ

      १ सय ४० किलोमिटर लामो सडकको म्याद दुई वर्षपछि सकिँदै 

      आयोजना प्रमुख भन्छन् : एक वर्षे ठेक्का प्रणाली नै बाधक

आजको राजधानी दैनिकले लेखेको छ, सो ट्र्याकसमेत गाडी गुड्न सक्ने अवस्थामा छैन । आर्थिक वर्ष २०६६÷६७ मा सरकारले यो सडक निर्माणलाई प्राथमिकता दिँदै शुभारम्भ गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ सम्ममा १ सय ४० किलोमिटर सडक निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । तर निर्धारित समय सकिन दुई वर्ष बाँकी रहँदा १८ किलोमिटर मात्र ट्र्याक खुलेको छ । दार्चुला–तिंकर सडक निर्माणका लागि विनियोजित बजेट पनि खर्च भएको छैन । दार्चुला–तिंकर सडकका लागि विगतका चार आर्थिक वर्षमा सरकारले ७० करोड ९४ लाख ८१ हजार विनियोजन गरेको छ । तर, खर्च भने २२ करोड ९३ लाख ८० हजार मात्रै भएको छ । चार वर्षमा यो आयोजनाका लागि विनियोजित रकममध्ये ४८ करोड १ लाख १ हजार फिर्ता भएको छ ।

दार्चुला–तिंकर आयोजनाका प्रमुख मनीषकुमार शाहका अनुसार भारतीय नाकाबन्दी, निर्माण सामग्रीको अभाव, इन्धन अभाव र एक वर्षे ठेक्का प्रणालीजस्ता कारणले सडक निर्माणमा ढिलाइ भएको हो । सडक निर्माण आयोजनाले १८ माघ २०७१ मा नेपाली सेनाको बारुदखाना स्वयम्भूलाई बसुन्धरा क्यान्टिनमार्फत १० हजार १ सय केजी (१० दशमलव १ टन) विस्फोटक पदार्थका लागि २६ लाख १५ हजार रुपैयाँ बुझाइसकेको भए पनि अझै नेपाली सेनाले विस्फोटक पदार्थ उपलब्ध गराएको छैन । स्थानीय तहका जनप्रतिनिधिले विस्फोटक पदार्थ उपलब्ध गराउन आग्रह गरे पनि अझै विस्फोटक पदार्थ उपलब्ध गराउन ढिलाइ हुने जवाफ आएको आयोजना प्रमुख शाहको भनाइ छ । सेनाले २६ चैत २०७१ मा ३ हजार १ सय केजी र २६ फागुन २०७२ मा २ हजार ६ सय किलोग्राम विस्फोटक पदार्थ मात्रै आयोजनालाई दिएको छ ।

दार्चुला आउने मन्त्री तथा सांसदहरूले समेत पटकपटक विस्फोटक पदार्थ उपलब्ध गराउन पहल गर्ने आश्वासन दिने गरेका छन् । तर आश्वासन कार्यान्वयनमा नआउँदा जिल्लावासी सडक सुविधाबाट वञ्चित हुनुपरेको व्यास गाउँपालिका–२ का स्थानीय दानसिंह कार्कीले बताए । विस्फोटक पदार्थबिनै काम हुन सक्ने ठाउँमासमेत निर्माण व्यवसायीले लापर्बाही गरेका छन् । चालू आर्थिक वर्षको डेढ महिना बितिसक्दा पनि निर्माण व्यवसायीले अझै काम सुरु गरेका छैनन् । अबको एक सातापछि केही निर्माण व्यवसायीले काम सुचारु गर्ने जानकारी गराएको आयोजना प्रमुख शाह बताउँछन् ।
यस वर्ष वीरेन्द्र वनदेखि राप्लाको कोठेधारसम्म निर्माण कार्य गराउने बताइए पनि निर्माण व्यवसायीले चासो देखाएका छैनन् । गत आर्थिक वर्षदेखि निर्माण सुरु भएका दुईवटा निर्माणले समेत गति लिएको छैन । लास्कु खोला र निजाङगाड खोलामा निर्माण गर्नुपर्ने पुलको म्याद पनि थप गरिएको छ ।
वर्षौंदेखि भारतीय मार्ग हुँदै साविकको राप्ला, व्यास, सुनसेरा, हिकिला, हुतीलगायत नागरिकले अहिले पनि भारतीय मार्गकै प्रयोग गुर्नपरेको छ । भारतीय बाटो प्रयोग गर्दा महाकाली नदीको जोखिमपूर्ण तुइनको यात्रा गर्नुपर्छ । यात्राका क्रममा तुइनबाट खसेर हरेक वर्ष स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् । यस आर्थिक वर्षको सुरुमै तुइन भएर खलंगा आउने क्रममा तीन जना नेपालीले ज्यान गुमाए । दार्चुला तिंकर सडक निर्माणमा भइरहेको ढिलाइकै कारण अहिले पनि दुहुँवासीले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको दार्चुला उद्योग वाणिज्य संघका उपाध्यक्ष गेल्बुसिंह बोहरा बताउँछन् ।

चीनको स्वशासित क्षेत्र तिब्बत दार्चुला तिंकर सडक निर्माणपछि छोटो मार्गको रूपमा प्रयोग गर्न सकिन्छ । यस्तै गत आर्थिक वर्षबाट सुरु भएको महाकाली करिडोर निर्माण अझै सुरु भएको छैन । महाकाली करिडोरअन्तर्गत डडेल्धुराको जोगबुढादेखि दार्चुलाको राताकाठा भीरसम्म सडक निर्माण, ब्याक कटिङका लागि गत १८ जेठमा सम्झौता भएको छ ।पहिलो आर्थिक वर्षको बजेट टेन्डर ढिलाइको कारण फिर्ता गएको थियो । आर्थिक वर्षको अन्तिममा आएर लामा÷चन्द्र एन्ड वसन्त जेभीसँग ठेक्का सम्झौता भए पनि अझै काम सुचारु भएकोे छैन । झन्डै ६९ किलोमिटर सडक क्षेत्रमा निर्माण कार्य अघि बढाउन कुल ५२ करोड ७४ लाख ९१ हजार ४ सय ५३ रुपैयाँ लागतमा सम्झौता भएको छ ।दार्चुला तिंकर सडकलाई महाकाली करिडोरमा गाभेपछि निर्माण कार्यले झन् गति लिन सकेको छैन । महाकाली करिडोर कञ्चनपुर ब्रह्मदेखि दार्चुलाको तिंकरसम्म जोडिएको छ । यस आर्थिक वर्षमा महाकाली करिडोरका लागि भन्दै आएको २९ करोड ९८ लाख ९५ हजार रुपैयाँसम्म खर्च नहुने देखिएको छ । तिंकर सडकलाई चाहिने विस्फोटक पदार्थ अझै उपलब्ध गराउन नसकेको कारण समयमै निर्माण कार्य अघि बढ्न नसक्ने देखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार