वयोधा अस्पतालमा विदेशी मुद्रा अपचलन धन्दा : अदालतले सुनायो ४० लाख जरीवाना

वयोधा अस्पतालमा विदेशी मुद्रा अपचलन धन्दा : अदालतले सुनायो ४० लाख जरीवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ भाद्र २०७४
  • 8.9K
    Shares

काठमाडौंको बल्खुस्थित वयोधा अस्पतालले विदेशी मुद्रा अपचलन गरेको खुलासा भएको छ । जिल्ला अदालतले उक्त अस्पताललाई ४० लाख रुपैयाँ जरीवाना सुनाएको छ । स्वास्थ्य उपकरण (मेडिकल इक्विप्मेन्ट) खरिद गर्ने नाममा उक्त अस्पतालले विदेशी मुद्रा अपचलन गरेको हो । गत पुसमा राजश्व अनुसन्धान विभागले अस्पतालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

विभागले अस्पतालविरुद्ध ८० लाख रुपैयाँ जरीवाना माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । विदेशी विनिमय नियमित गर्नेसम्बन्धी ऐन, २०१९ अनुसार यस्तो मुद्दामा बिगो जफत गरेर त्यसबमोजिम तीन गुणासम्म जरीवाना असुल गर्न सकिने व्यवस्था छ ।

वयोधाले करिब २७ युरो (सोमबारको विनिमय दरअनुसार करीव तीन हजार तीन सय रुपैयाँ) मूल्य पर्ने उपकरणलाई भन्सारमा उच्च मूल्यांकन (ओभर भ्यालुएसन) गराएर २५ लाख भारतीय रुपैयाँ -४० लाख नेपाली रुपैयाँ) मा खरिद गरेको देखाएको थियो ।

अस्पतालले भारतको वाइप्रो जीई हेल्थ केयर प्रालिबाट ‘मेडिकल इक्विप्मेन्ट’ खरिद गरेको थियो । उक्त कम्पनीसँग सामान खरिद गर्ने नाममा अवैध तरिकाले अस्पतालले भारतीय रुपैयाँको निकासी गरेको राजश्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

भदौ ०७३ मा भारतीय कम्पनीबाट स्वास्थ्य उपकरण खरिद गरेको थियो । सोही समयमा नेपाल इन्भेस्टमेन्ट बैंकबाट २५ लाख भारुको ‘डिमान्ड ड्राफ्ट’ भारतीय कम्पनी वाइप्रोमा पठाएको थियो ।

त्यसरी कम मूल्यको सामानलाई विदेशी मुद्रा विनिमय अपचलन गर्ने उद्देश्यले नै निकासीका लागि बढी मूल्यको ‘डिमान्ड ड्राफ्ट’मार्फत् भुक्तानी पठाई अपचलन गरेको अदालतको ठहर छ ।

उक्त ड्राफ्टका आधारमा सिंगापुरबाट एक थान ‘ट्यांक एन्ड फिलामेन्ट ड्राइभर बोर्ड’ खरिद गरेको थियो । घोषित वस्तुको भौतिक अवस्था, प्रतितपत्र, बिलविजक, भुक्तानीका अन्य प्रमाण र कागजातको विस्तृत अध्ययन गरी विभागले मुद्दा दायर गरेको थियो ।

विभाग स्रोतका अनुसार भारतबाट वस्तु आयात गर्दा हुने न्यून विजकीकरणलाई पूर्ति गर्न पनि यस्ता गतिविधि हुने गर्छन् । यस्तै, गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिलाई वैध बनाउन पनि यस्ता गतिविधि गरिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार