कमल रिमाल,विराटनगर १२ साउन । विराटनगरको भारतीय सीमासँग जोडिएको दरहियामा तीन महिना अघि प्रमुख जिल्ला अधिकारीको आदेशमा बन्द भएको बाटो खुल्ला भएको छ । नेपालबाट गिट्टी बालुवा भारत निकासी हुने बाटो बन्द गरिएपनि सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय(सीसुका) को निगरानीमा नयाँ बाटो खुलेको हो ।गिट्टी बालुवा भारत लगिने चोर बाटोमा सीसुकाको सुरक्षा समूह २४ घण्टा बस्दै आएको छ । क्षेत्रीय प्रहरी कार्यालय रानीको पश्चिम तर्फको बाटोबाट सीमामा जम्मा गरी भारत निर्यात गरिदै आएको गिट्टी बालुवा लैजाने बाटो बन्द गर्न सर्वदलीय आदेश भएको थियो । जिल्ला सुरक्षा समिति प्रमुख प्रजिअको नेतृत्वमा गएको अनुगमन टोलीले आदेश दिएपछि दसगजा कट्ने बाटो बन्द गरिएको थियो ।
भन्सार भन्दा अन्यत्रको नाकाबाट गाडी चल्ने बाटो बन्द गर्न आदेश भएपछि भन्सार प्रमुख कृष्ण बस्नेतले खाडी खनेर बाटो बन्द गराएका थिए । भन्सारले बन्द गराएको बाटो भन्दा २० मिटर पूर्वबाट नयाँ बाटो खुलेको छ । इँटा छापेर नभासिने बनाइएको बाटोबाट मंगलबार रातभरी ट्याक्टरले गिट्टी बालुवा ओसारेका थिए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल तस्करी रोक्न खनिएको बाटो नजिकै अर्को बाटो बनेको बारे थाहा नभएको बताउँछन् । उनले यस बारे सशस्त्र प्रहरीलाई थाहा हुने बताए । सशस्त्र प्रहरीको सीसुका प्रमुख एसपी भुवनेश्वरप्रसाद चौधरीले नयाँ बाटो नखुलेको दाबी गरे । तस्करीको नयाँ बाटो खोलिएको बारे प्रश्न गर्दा उनले ‘कस्ले बाटो खोल्यो ?’ भन्ने प्रति प्रश्न गरे ।
गिट्टी बालुवा तस्करी हुने गौडामा सशस्त्र प्रहरी तैनाथ रहने गरेको बारेमा जिज्ञाशा राख्दा एस्पी चौधरीले सशस्त्र मात्रै नभई नेपाल प्रहरी पनि ड्युटीमा रहने गरेको जानकारी दिए । मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारी भने गिट्टी बालुवा तस्करीको जानकारी पाएर पनि सूचना नगर्ने प्रहरी कर्मचारीलाई तत्काल कारवाही गरिने बताउँछन् ।